• September 28, 2020

कोरोनासँगै भारतमा सलह किराको आतंक, नेपालमा खतराको घण्टी

 कोरोनासँगै भारतमा सलह किराको आतंक, नेपालमा खतराको घण्टी
मनपरे शेयर गरौ ! 

एजेन्सी / कोरोनाको कहरबीच सोमबारदेखि भारतमा नयाँ आतंक मच्चिएको छ । त्यो आतंकको कारण अरु केही नभएर विनाशकारी किरा सलह पसेको हो ।

यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ ।

गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।

करिब २७ वर्षपछि फेरि एकपटक भारतमा सलहको आक्रमण देखिएको हो । राज्यको कृषि विभागका अनुसार सन् १९९३ मा यसै गरी सलहले भारतको महाराष्ट्रमा आक्रमण गरेको थियो ।

विभागका अनुसार अहिले पुनः भारतमा प्रवेश गरेको सलहको झुण्ड कम्तिमा १० किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइ रहेको छ । प्रवेश गरेको तीन दिनमा नै सलहले करिब १२० किलोमिटरको दूरी पार गरिसकेको छ र सो क्षेत्रमा प्रभाव जमाइसकेको छ । सलहले आफूलाई झुण्ड–झुण्डमा विभाजित गर्दै पुरै देशमा नै प्रभाव जमाउने खतरा बढेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

हाल सलह प्रभावित क्षेत्रहरुमा खाद्यान्न बाली नभएकाले त्यति ठूलो क्षति नहुने तर फलफूल र तरकारीमा भने उच्च जोखिम रहेको सो क्षेत्रका राज्य सरकारले बताएका छन् ।

‘आक्रमण सोमबार बिहान काटोल(नागपुर)बाट शुरु भयो । यद्यपी हामी मनसुनको नजिक छौँ । र यी क्षेत्रहरुमा जुन १० पछि मात्र लगाइने विरुवाहरु छन् । जसले गर्दा कृषि बालीहरुमा त्यति ठूलो क्षति हुने देखिँदैन । तर सुन्तला बगैँचा र तरकारीहरुमा भने यसको आक्रमणको खतरा छ । सलहका कारण ती बगैँचाहरुको सुन्तलाको उत्पादनमा करिब २५ प्रतिशतले घाटा हुने अनुमान गरेका छौँ ।’ नागपुर कृषि डिभिजन कार्यालयका संयोजक रविन्द्र भोसलेको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले भनेको छ ।

हाल नागपुरका दक्षिणी क्षेत्रका ग्रामीण कृषि फार्महरुको सयौँ हेक्टरमा लगाइएको फलफूल तथा तरकारी बन्दागोवी, चिप्ले भेण्टी, फूलगोवी (काउली) लगायतका बालीहरु सलहको खतरामा परेका छन् ।

खतराको घण्टी नेपालमा पनि

भारतमा सलहको प्रवेश र आक्रमणसँगै नेपालमा पनि सो खतराको घण्टी बजिसकेको छ । तीन दिन भित्र नै ४–५ प्रदेशमा फैलिने गरी तीव्र आक्रमण सुरु गरेको सलहले छोटो दुरीमा रहेको छिमेकी मुलुक नेपालमा समेत प्रवेश गर्न सक्ने खतरा बढेको छ ।

सरदर एक दिनमा नै २५० किलोमिटर देखि ३०० किलोमिटर दूरीसम्म बेग(यात्रा) गर्न सक्ने सलहले भारतदेखि नेपालमा सहजै प्रवेश गर्न सक्ने देखिएको छ । हावाको गतिसँगै आफ्नो यात्रा तय गर्ने सलहले मौसमी हावासँगै नेपाल प्रवेश गर्ने खतरा उच्च रहेको कीट विज्ञान महाशाखा, नार्कका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल बताउछन् ।

‘अहिले नै यसै भन्न सकिने अवस्था छैन । भारतमा प्रवेश गरेसँगै नजिकको छिमेकी मुलुक नेपालमा समेत सलह प्रवेश गर्न सक्ने उच्च जोखिम रहन्छ । तर त्यो मौसममा भर पर्छ ।’ वरिष्ठ वैज्ञानिक डा।अर्यालले भने, ‘हावाको बहावको दिशा अनुसार आफ्नो यात्रा तय गर्ने हुँदा मौसमी हावासँगै सलह नेपाल प्रवेश गर्ने उच्च जोखिम छ ।’

यही जोखिमलाई मध्यनजर गर्दै गत सोमबार भारतमा सलहको प्रकोप देखिने बित्तिकै नेपालमा पनि सो बारे छलफल सुरु भएको छ । भारतमा प्रकोप देखिएसँगै नेपालमा पनि सलहको प्रवेश हुनसक्ने उच्च जोखिम रहेको भन्दै सतर्कताका लागि केन्द्रीय स्तरमै छलफल भएको हो ।

राष्ट्रिय बाली तथा विषादी परीक्षण समितिको नेतृत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र किट विज्ञान महासाखा, नार्कको संयोजकत्वमा सोबारे छलफल भएको छ । यदी सलह नेपाल प्रवेश गरिहाले के गर्ने र कसरी सुरक्षित गर्ने र प्रकोपको नियन्त्रण गर्ने भन्ने बारे छलफल भएको वैज्ञानिक डा। अर्यालले जानकारी दिए । सो बारे अझै छलफल जारी रहेको उनको भनाइ छ । newsofnepal.com

मनपरे शेयर गरौ ! 

Related post