• September 28, 2020

छिमेकी पुग्नु अघि ‘थर्मल गन’

 छिमेकी पुग्नु अघि ‘थर्मल गन’
मनपरे शेयर गरौ ! 


झिलझिले / यदि तपाईं काम विशेषले सहकारी संस्थामा छिर्दै हुनुहुन्छ भने अब ढोकैमा ज्वरो नाप्ने, स्यानिटाइजरले हात सफा गर्नुपर्ने हुन्छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले कार्यालय छिर्नुअघि थर्मल गनमार्फत ज्वरो नापिरहेका छन् ।

बुधबारदेखि सहकारी छिर्ने सदस्यको मूल गेटमै ज्वरो नाप्न थालिएको छ । लकडाउन अघिदेखि साबुनपानीले हात धोएर सफा गर्ने नियम बनाइएको थियो ।

यो क्रम पनि चलिरहेको सहकारीले जानकारी दिएको छ । सहकारीका कर्मचारी, संचालक समिति, शेयर सदस्य र अन्य सर्वसाधरणको ज्वरो मापन हुने गरेको सो सहकारी संस्थाले प्रेस नोट मार्फत जानकारी दिएको छ ।

बिहान १० बजेदेखि दिउसो २ बजे सम्म साताको मंगलबार र शनिबार बाहेक कार्यालय समयमा ज्वरो मापन हुने गरेको सहकारीका कार्यकारी प्रमुख नरप्रसाद ओली (नविन) ले बताए ।

‘वित्तीय संस्था अर्थात सहकारी यसै पनि संवेदनशील ठाउँ हो, जहाँ सजिलै धेरै मानिसमा संक्रमण फैलिने जोखिम हुन्छ,’ कार्यकारी प्रमुख ओलीले भने, ‘संक्रमण फैलेपछि उपचारका लागि सोच्नुभन्दा फैलन नपाओस् भनेर हामीले ज्वरो मापन गर्न थालेका हौं ।’

ज्वरो मापनका क्रममा कोहि कसैलाई १००.४ डिग्री भन्दा बढी ज्वरो देखिएमा या कोभिडसँग मिल्दोजुल्दो लक्षण भएमा सहकारी भित्र प्रवेश निषेध हुन्छ ।

स्थानीय स्वास्थ्यकर्मीलाई सहकारीमै त्तकाल बोलाएर सहकारीले प्राथमिक उपचार थाल्छ । तत्पश्चात स्थानीय पालिकाको सहकार्यमा थप उपचारका लागि अस्पताल लगिने ओलीले बताए ।

उनले भने, ‘स्थानीय स्वास्थ्य संस्थासंग सहकार्य गरेर प्राथमिक चरणको उपचार सहकारीले व्यवस्था मिलाइएको छ ।’ सहकारीले कोभिडबारे जनचेतना दिने पनि गरिरहेको छ ।

सहकारीका कर्मचारीले ज्वरो नाप्ने र स्यानिटाइजर लगाउन दिने गरेका छन् । अन्य प्रक्रियाका लागि डब्लूएचओको निर्देशन अनुसार काम भइरहेको सहकारीले जनाएको छ ।

कोरोनाको संक्रमणबाट बच्न सहकारीले थर्मल गनको माध्यमबाट शेयर सदस्य र सहकारीमा आउने सर्वसाधरण नागरीकको ज्वरो मापन हुने गरेको संस्थाका अध्यक्ष गणेश प्रधानले बताए । उनले घरघरै गएर पनि सदस्यको ज्वरो मापन गर्ने तयारी भएको बताए ।

‘सबैका घरमा ज्वरो मापनका लागि उपकरण हुदैन । ‘कमसेकम थर्मल गन लिएर घरघरै गएर ज्वरो मापन गरियो भने ढुक्क त हुन्छ,’ अध्यक्ष प्रधानले भने । छिमेकी सहकारीको ४ हजार शेयर सदस्य छन् ।

मनपरे शेयर गरौ ! 

Related post