• October 29, 2020

जाने अमृत नजाने बीस हो ‘माया’- अबिषेक खतिवडा

 जाने अमृत नजाने बीस हो ‘माया’- अबिषेक खतिवडा
मनपरे शेयर गरौ ! 
अबिषेक खतिवडा-


माया दुई अक्षरले बनेको शब्द हो । ‘मा’ र ‘या’ मिलेर बनेको एक शब्द हो माया । प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजीमा: love) को सामान्य अर्थ कुनै जीव (प्राणी अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तुप्रतिको आकर्षण हो ।

तर, मायालाई ठेट रुपमा कसैले परिभाषित गर्न आजसम्म सकेको छैन । र, सक्दैन पनि ।
संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ । पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रियासँग मायाको सम्बन्ध हुन्छ । त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ ।

जसलाई फिनाइलइथायलअमाइन (phenylethylamine) भनिन्छ । मायाले संसार अटेको हुन्छ भन्ने बिश्वास राखिएको छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न । नत, समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफँै हराउछन् ।

मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि एकतर्फी मायामा बाँचिरहेका हुन्छन् । जाने अमृत नजाने बीस हो माया ! माया , आ–आफ्नो अनुभव अनुसार फरक फरक सुन्न सकिन्छ । कसैले आफूले गरेको अनुभवको आधारमा माया संसार हो भन्लान्, कसैले माया सबथोक हो भन्लान् । कसैले माया जीवन हो भन्लान् , त कसैले माया रोदन हो भन्लान्, जे भने पनि आजसम्म मायाले आधिकारिक रुपमा आफ्नो अर्थ प्राप्त गर्न सकेको छैन् ।

तर, अचेल माया एउटा पसलमा बेच्न राखिएको सामना वा वस्तु जस्तै भइसकेको उदाहरणहरु थुप्रै छन । जस्ले नि सजिलै प्राप्त गर्न सक्ने । जोसँग पैसा छ उस्ले सजिलै किन्न सक्ने । त्यसैले सजिलै पाएको माया सजिलै तोडिने गरेको इतिहास आँखा अगाडि थुप्रै छन् । अझ कतिले त मायालाई एक÷ एक शब्दमा बिभाजन गरेर मा–मानसिक र या–यातना ‘मानसिक यातना’ भनेर गलत अर्थमा परिभाषित गरेको पनि पाइन्छ । तर, ‘माया’ शब्द आफैँमा पबित्र र मुल्यवान छ । स्वार्थ राखेर माया गर्नेहरुले यो शब्दलाई गलत सावित गर्दै छन् ।

कसैको स्वार्थ लुटि आफ्नो स्वार्थ पूरा गर्नु माया कदापि होइन । अनि मायाको नाममा सामुहिक सम्बन्धमा बसेर कसैलाई धोका दिनु माया होइन । बर्तमान समयमा नारी जातीले मायाको नाम मा लुगा, पैसा र घुम्ने खाने कुरादेखि लोभलाचामा परेर धेरै हिंसा र हत्या भएको घटनाहरु एत्रतत्र बारिरहेका छन् । यस्ता कार्यहरुले माया शब्दको ठाडो अपमान गरिरहेको छ । अनि पुरुष जातिले मायाको नाममा शारीरिक स्वार्थ राखेर माया शब्दको धज्जी उडाएका छन् ।

मैले किशोर अवस्था काटिसकेकोले यो किशोरावस्थामा जतिले मायाको महसुस गरे त्यो प्रायः माया नभएर एउटा आकर्षण मात्रै हो । जसलाई हामी ‘माया’ नाम दिएर झुक्किरहेका हुन्छौं । तर ,यो सत्य हो कि ‘आकर्षण’ मायाको पहिलो खुट्किलो हो । तर, प्रायः सम्बन्धहरु माया हुन नपाउँदै टुंगिने गरेको छ ।
जसलाई हामी आफैँबाट महसुस गर्न सक्छौं । हामिले माया गरेको भन्ने मान्छेको बारेमा हामी सम्बन्धमा हुँदा थप चर्चा गर्न पछि पर्दैनौं । तर, त्यही मान्छेसँग सम्बन्ध टुंगेको दिन हिजोको चर्चा गर्दै हिड्ने हामी नै उसलाई तथानाम गाली गर्न र कुरा काट्न आतुर हुन्छौँ । यहिबाट प्रष्ट हुन्छ हिजोको सम्बन्ध माया थियो या आकर्षण मात्रै थियो ।

हामीले आफूले मन भित्रैदेखि चाहेको मान्छे , माया गरेको महसुस गरेको मान्छे सधैं आफ्नो नयनको परिसरमा रहिरहोस् र आफ्नै बनाउन सकूँ भन्ने अधिकांश माया गर्ने मान्छेको चाहाना हुन्छ । मायामा लगाब र झुकाब यी दुई कुराको महत्वपूर्ण भूमिका रहन्छ ।

दुई पक्षमा यी दुई कुरा बराबर छ भने सम्बन्धले माया नाम पाउन सक्छ । र, माया भएर सम्बन्ध सफल हुन सक्छ, तर, एक पक्ष मात्रै कम वा बढी भयो भने सम्बन्ध आकर्षणमा मात्रै सिमित रहन्छ । सम्बन्ध ‘माया’ हुन दुबै पक्षबाट लगाव र झुकाव बराबर हुन आवश्यक देखिन्छ ।

मजबुत भएर रहन घरलाई बलियो जग जति आवश्यक छ यस्तै सम्बन्ध मजबुत हुन पनि बिश्वास आवश्यक छ । मान्नुस कि, सम्बन्ध घर अनि बिश्वास जग । रोएर, गिरगिराएर र बाध्यतामा पारेर कायम भएको सम्बन्ध ‘माया’ हुनै सक्दैन ।

मायामा नितान्त प्रेम हुन्छ अनि समर्पण हुन्छ । मायामा मात्रै खुसी हेरिन्छ त्यो पनि आफ्नो होइन्, आफुले माया गरेको मान्छेको । तर, हामी माया जस्तो पबित्र नाम दिएर पाप गरिरहेका हुन्छौं । यतिसम्म कि मर्छु र मार्छु भन्ने धम्की दिएर सम्बन्ध कायम गर्न हामी पछि पर्दैनौँ ।
हामिले यसरी कसैको भौतिक शरीर त प्राप्त गर्न सक्छा,ैं तर यसरी मन कदापि प्राप्त गर्न सक्दैनौं ।

अनि मन बिनाको माया कसरी ? मायामा नकारात्मक स्वार्थ कत्ति नि हुँदैन । तर, यसरी कायम गरेको सम्बन्धमा स्वार्थ देखिन्छ । आफू खुसी हुने स्वार्थ जहाँ हामिले चाहेको मान्छेको खुसिको पर्वाह नै छैन । अनि कसरी भयो माया ? मायामा त आफ्नो मन दुखाएर अरुलाई खुसी बाँडिन्छ ।

त्यसैले साँच्चै कसैलाई मन देखि नै माया गर्नुहुन्छ भने यो कुरामा ध्यान दिउँ कि, हामी आफू खुसी भइरहेको सम्बन्धमा उ खुसी छ कि नाइँ ? अनि म आफू सन्तुष्ट भइरहेको सम्बन्धमा उ सन्तुष्ट छ कि नाइँ ? छ भने सम्बन्ध बढाउनुस् यदि छैन भने उसको खुसीको लागि उसलाई नै त्याग्नुस् ।

अनि महसुस गर्नुस् पाउनुमा भन्दा गुमाउनुमा कति माया हुन्छ भनेर । र, उसले पनि तपाईंसँग हुँदा, तपाईले आफ्नो खुसिको लागि उसलाई आफ्नो बनाउन खोज्दा भन्दा पनि उसको खुसिको लागि उसलाई गुमाउँदा महसुस गर्नेछ कि तपाईले कति माया गर्नु हुन्छ भनेर । यदि साँच्चै बुझ्ने नै हुन् भने उ फर्केर तपाइलाई नै स्विकार्ने छ । तर, यदि नबुझ्ने रहेछ भने लगाव छोडेनुस् र जसको माया बुझ्ने दिल छैन उसको लागि दिल नदुखाउँदा समझदारी ।

मनपरे शेयर गरौ ! 

Related post