• September 29, 2020

संसदमा आज संविधान संशोधन विधेयक पेस हुने

 संसदमा आज संविधान संशोधन विधेयक पेस हुने
मनपरे शेयर गरौ ! 

झापा / सरकारले आइतबार संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस गर्ने भएको छ । संघीय संसद् सचिवालले आज बस्ने प्रतिनिनिधि सभा बैठकको कार्यसूची तय गरेको हो ।

आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न खोजे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले संविधान संशोधन विधेयकको पक्षमा रहने निर्णय गरिसकेको छ ।

कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोहीअनुसार निर्देशन दिएपछि आज आइतबार बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक पेस हुने भएको छ ।

सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशाना छापबारे संशोधन गर्न लागिएको हो ।

संविधान संशोधनपछि निशाना छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ ।

मनपरे शेयर गरौ ! 

Related post