• September 30, 2020

हल्दिबारी गाउँसभामा भएको झडप नेकपाको बहुमतको दम्भको उपज हो -अध्यक्ष लिङदेन

 हल्दिबारी गाउँसभामा भएको झडप नेकपाको बहुमतको दम्भको उपज हो -अध्यक्ष लिङदेन
मनपरे शेयर गरौ ! 

बिर्तामोड / हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले गाउँपालिकामा हिजो भएकोे झडप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमतको दम्भका कारण निम्तिएको बताएका छन् ।

बजेट नीति तथा कार्यक्रम पास गर्न असार १० गते आयोजित सातौँ गाउँसभा बैठक चलिरहेका बेला सभाहलमा असमान बजेट वितरण र सडकको नामाकरणको विषयमा असहमति हुँदा एक्कासी झडप भएको थियो ।

सभाहलभित्र असहमतिका बीच बैठक चलिरहेको थियो भने बाहिर रहेका विभिन्न राजनीतिक दलका कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा ढुङगामुडा गर्दै तोडफोड गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष लिङदेनले प्रत्येक वडामा वितरण गरिएको बजेट समानुपातिक छैन समानुपातिक वितरण गर्नुपर्छ र चारकोसे जंंगलमा निर्माण भएको पर्यटकीय सडकको नाम व्यक्तिको नाममा नभई पहिचान झल्कने गरि राख्नुपर्छ भन्ने विषयमा समझदारी नहुँदा झडपको स्थिति निम्तिएको बताए ।

अघिल्लो दिन झडप भएपछि उत्पन्न परिस्थितबारे जानकारी दिन बिहीबार विज्ञप्ति निकालेर गाउँपालिकामा अध्यक्ष लिङदेनले पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले भने, ‘बहुमत र अल्पमतमा नगई सबै विषमा घनीभूत छलफल गरेर मात्र असार २९ गते पास गरोँ भन्दा गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी, वडानम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा, वडानम्बर ४ का सदस्य महेश मेचे र कार्यपालिका सदस्य सागर पोर्तेल लगायतले म माथि नै सांगातिक आक्रमण गरे ।’

‘त्यहाँ बस्ने स्थिति नभएपछि म सभाहलबाट भागेर बाहिर निस्केको हुँ’ उनले भने, ‘म माथि नै आक्रमण भएपछि मेची अञ्चल अस्पताल भद्रपुर गएर स्वास्थ्य परिक्षण गरेर आएको छु ।’

असमान बजेट वितरण, चारकोसे जंगल र आवादिको सिमानाको पर्यटकीय मार्गको नामाकरण व्यक्तिको नाममा नभई जलथलको इतिहास झल्कने गरि राख्नुपर्छ भन्दै ज्ञापनपत्र बुझाउन आएका विभिन्न पार्टीका कार्यकर्ताको ज्ञापनपत्र समेत उपाध्यक्ष गिरी लगायत गाउँसभा सदस्यले बुझ्न नदिएको अध्यक्ष लिङदेनले बताए ।

बैठक कक्षमा अध्यक्ष माथि हातपात भएको दृश्य टुलुटुलु हेरिरहन नैतिकताले नदिएको भन्दै ज्ञापनपत्र बुझाउन आएका व्यक्तिहरुले आफुलाई बचाउने क्रममा सो असहज स्थिति निम्तिएको र विभिन्न पार्टीका कार्यकर्ता घाइते भएकोे उनले जानकारी दिए ।

‘हामी निर्वाचित भएर झगडा गर्न आएका होइनौँ’ अध्यक्ष लिङदेनले भने, ‘अल्पमतको आवाज नसुन्ने म अध्यक्षको हैसियतले मिल्दैन नीती तथा कार्यक्रम छलफल पछि मात्रै पास गरेर जाउँ भन्दा बहुमतको नाममा नेकपाका साथीहरुले आजै जसरी पनि पास गर्नुपर्छ भनेपछि यो परिस्थिति आएको हो ।’

विज्ञप्तिमा उक्त घटनाको सम्पूर्ण क्षतिको जिम्मा नेकपाबाट निर्वाचित भएर आएका गाउँसभा सदस्यले लिनुपर्छ भन्दै घटनाको निन्दा र भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष घाइते भई उपचार गर्न गएको अवस्थामा उपाध्यक्ष डम्बर गिरी स्वयं सभाध्यक्ष भई सभाको निर्णय प्रमाणित गरेको कुरा कानुन विपरित भएकोले बहुमतले पास गरेको निर्णय मान्य नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष लिङदेनले असार २९ गते गाउँसभा गर्ने भनि मौखिक रुपमा मिति तोके पनि सभाा सञ्चालन गर्न असहज परिस्थिति भएको भन्दै अर्को मिति नतोकिन्जेल सम्मका लागि गाउँसभा स्थगन भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post