• September 30, 2020

हल्दिबारी घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ – उपाध्यक्ष गिरी

 हल्दिबारी घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ – उपाध्यक्ष गिरी
मनपरे शेयर गरौ ! 


बिर्तामोड / हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गाउँपालिकामा सिर्जित घटनाको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले लिनुपर्ने बताएका छन् ।

आज बिहान गाउँपालिका परिसरमा पत्रकार सम्मेलन गरि असार १० गतेको गाउँसभामा भएको तोडफोड र घटनाको जिम्मेवारी स्वयं अध्यक्षले लिनुपर्ने बताएका हुन् ।

सभा चलिरहेको बेला अध्यक्षले पदीय मर्यादा,जिमेवारी भूलेर आफू अगाडिको टेवल फुटाएर सभाहल भित्र हुलहुज्जत गर्दै सभाबाट बाहिरीएको र बाहिर रहेका नेपाली कांग्रेस र राप्रपाका केहि व्यक्तिहरुलाई हुलहुज्जत गर्न उक्साएको उपाध्यक्ष गिरीको तर्क छ ।

अध्यक्षको उक्साहटमा भएको सो घटनाको हामी धोर निन्दा र भत्सर्ना गर्दछौँ उपाध्यक्ष गिरीले भने । सभाध्यक्ष लिङदेनलाई सभाहलबाट नबाहिरिन सदस्यहरुले पटकपटक गरेको आग्रहको बेवास्ता गर्दै हलबाट बाहिरिएको गिरीको दाबी छ ।

‘पत्रकार सम्मेलन गरेर अध्यक्षले बहुमत सदस्यले गरेको निर्णय कानुन विपरीत छ भन्नु भएछ’ उपाध्यक्ष गिरीले भने, ‘म उहाँलाई भन्न चाहन्छु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २१ मा तत्काल कायम रहेका सदस्यले पारित गरेमा अध्यक्षले प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ ।’

अध्यक्षले सभा छोडेर गएपछि कानुनत उपाध्यक्षको हैसियतले डम्बरबहादुर गिरीले सभाको अध्यक्षता गर्दै पारित नीति तथा कार्यक्रम प्रमाणित गरेको हो उनले भने ।

उपाध्यक्ष गिरीले १० गते गरेको निर्णयमा कुनै दुविधा, शंका भए सम्मानित अदालत गएर निर्णय बदर गराउन चुनौती दिए ।

पत्रकार सम्मेलनमा वडानम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा, ३ नम्बर वडाध्यक्ष रोशन शिवाकोटी कार्यपालिका सदस्य सागर पोर्तेल लगायतका जनप्रतिनिधिको उपस्थिति थियो ।

हल्दिबारी गाउँपालिकाको सातौँ गाउँसभामा भएको घटना क्रमले अध्यक्ष रविन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीच मतान्तर देखिएको छ । अध्यक्ष लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित हुन् ।

उपाध्यक्ष डम्बरबहादुर गिरी नपाल कमयुनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित जनप्रतिनिधी हुन् । गाउँपालिकमा राप्रपा र नेपाली कांग्रेस अल्पमतमा छन् भने नेकपाबाट निर्वाचित बहुमत सदस्य छन् ।

सातौँ गाउँसभामा भएको घटनापछि सिर्जित परिस्थितिबारे जानकारी गराउन हिजो गाउँपालिकाका अध्यक्ष लिङदेन र कांग्रेस वडाध्यक्षले गाउँपालिकामा पत्रकार सम्मेलन गरे ।

त्यसको प्रत्युत्तरमा आज नेकपा निकटका उपाध्यक्ष गिरी लगायतको टीमले पत्रकार सम्मेलन गरि अध्यक्षको आलोचना गरेका छन् ।

एकपछि अर्को गर्दै पत्रकार सम्मेलन मार्फत अध्यक्ष र उपाध्यक्ष निकटका जनप्रतिनिधिले एकअर्कामा घोचपेच गर्न थालेपछि हल्दिबारीको विवाद सतहमा छताछुल्ल भएको छ ।

राजनीतिक प्रतिशोधका कारण जनप्रतिनिधीहरु अल्पमत र बहुमतमा विभाजित भएपछि हल्दिबारीबासीको विकास र समृद्धिको चाहनामा तुसारापात भएको भन्दै सर्बत्र चासो र चिन्ता बढेको छ ।

जनप्रतिनिधिबीच बढेको मतभेद हटाई तत्काल समस्या समाधान गर्नु पर्ने स्थानीयको भनाई छ ।

मनपरे शेयर गरौ ! 

Related post