• October 29, 2020

कविता- हाय मानवता…!!!

 कविता-  हाय मानवता…!!!
मनपरे शेयर गरौ ! 



कृष्णप्रसाद पाठक-

हुदैन, यहाँ हुँदै हुँदैन
यो छैन, त्यो छैन केही पनि छैन

व्यवस्थापन ज्यादै कमजोर देखियो
उनीहरुले रवाफ देखाउदै भने

यो त सार्वजनिक विद्यालय न पर्याे
भने जस्तो सोचे जस्तो सुविधा कहाँबाट हुनु

लाग्दो हो विद्यालय अन्तरयामी हुनु पर्ने
जस्ले जे सोच्यो छु मन्तरमा

सबथोक जिउँकातिउँ हुनु पर्ने
तै पनि विद्यालय रोजियो

बोली बोलीमै लेखापढी सकियो
लालमोहर लगाएर एक हुल बाहिरियो

व्यवस्थापनको व्यवस्थापन नै नगरी
हामी चाहिँ यो गर्ने त्यो गर्ने भन्दै
चौरमा भाषण ठोक्दै थियौँ ।।

अचानक आयो ! आयो !! को आवाज सुनियो
भिड आतंकित हुँदै छरपष्ट भयो
कोहि रुमालले कोहि हातले
आफ्नो अनुहार छोप्दै थिए

कोहि किन ल्याएको यिनीहरुलाई
विरोधको स्वर उराल्दै थिए ।।

मानवियताको हाम्रो दरिद्र मानसिकता
मर्दै गएका हाम्रा भावनात्मक सम्बन्धहरु
अरुलाई पर्दा खुच्चिङ भन्ने हाम्रो संस्कार
आफुलाई पर्दा छाति पिटेर रुने चलन
दायित्व के ?

जिम्मेवारीबाट चिप्लिएका हामी
स्वार्थपरक एक्लै बाँच्न चाहने प्रवृति
पाषाण हृदय र जड मस्तिष्क

परोपकारका लागि काम्ने हाम्रा हातहरु
चुडिएर छताछुल्ल भएका आत्मिक साथहरु
सहयोग गर्नु पर्दा लुलिएका खुट्टाहरु
नारामा सिमित ‘‘नेपाली÷नेपाली एक हौँ’’

कुँजिएको शरीर, घोप्टिएको शिर
तरै पनि वीर गोर्खालीको पगरी
वाहा ! हामी र हामी बाँचेको परिवेश ।।।

घटना विदेशबाट आएका हाम्रै दाजुभाई
क्वारेन्टिनमा बस्न आएका तिन्लाई
स्वागत छ भन्न नसक्ने हाम्रो मुख
डरले थरथरी काम्दै भाग्दैछौँ

फेरि पनि मानवताका लागि भन्दै
सुनको कचौरामा भिख माग्दैछौँ

कोरोना कहरको तितो अनुभूति
आफ्नै आँखा अघि देख्न पाउँदा
विश्वास नै भएन हामी मानव हौँ भन्न ।।

मनपरे शेयर गरौ ! 

Related post