• September 29, 2020

भारतीय मिडियामा आएको सामग्रीबारे नेपाल सरकारले पठायो ‘कूटनीतिक नोट’

 भारतीय मिडियामा आएको सामग्रीबारे नेपाल सरकारले पठायो ‘कूटनीतिक नोट’
मनपरे शेयर गरौ ! 

काठमाण्डौँ / केही भारतीय सञ्चार माध्यममा नेपालबारे आएका समाचारलाई ‘झूटो, आधारहिन र असंवेदनशील’ भन्दै नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउँदै परराष्ट्र मन्त्रालयले ‘ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्वको अपमान गरेको’ उल्लेख गरेको छ।

‘त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक शिष्टता र मर्यादा उल्लंघन गरेको छ,’ नेपालले पठाएको कूटनीतिक नोटमा उल्लिखित विवरण उद्धृत गर्दै परराष्ट्र स्रोतले भन्यो, ‘केही भारतीय मिडियाले चलाएको यस्तो दुष्प्रचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिरो चोट पुगेको छ।’

परराष्ट्रले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् आइतबार उक्त कूटनीतिक नोट भारत सरकारलाई पठाएको हो।

कूटनीतिक नोटमा दुई देशबीच लामो समयदेखि रहेको गहिरो र बहुआयामिक सम्बन्ध एकअर्काको सार्वभौमिक समानता, मित्रता र समझदारी तथा आपसी रुचि र सरोकारको सम्मानमा आधारित रहेको उल्लेख गरिएको छ।

‘यो सम्बन्ध अगाडि बढाउन मिडियाले सही सूचना र सही दृष्टिकोण प्रवाह गरेर रचनात्मक भूमिका खेल्नुपर्छ,’ कूटनीतिक नोटमा भनिएको छ, ‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, तर त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नु हुँदैन।’

‘एक्काइसौं शताब्दीमा आपसी हितका लागि ठोस आधार तयार पार्न दुई देशको नेतृत्वबीच भएको घोषित समझदारीविपरीत भारतीय मिडियामा आएका झूटा सामग्रीहरूले नेपाल र नेपाली जनताको अपमान गरेको छ,’ कूटनीतिक नोटमा उल्लेख छ।

नेपालबारे भारतीय मिडियामा प्रसारित सामग्रीले दुई देशका जनतामा पुस्तौंसम्म एकअर्काप्रति घृणा र आक्रोश जगाउने पनि परराष्ट्रले औंल्याएको छ।

‘त्यसैले नेपालविरूद्ध प्रसारित अपमानपूर्ण सामग्रीहरूविरूद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भारतीय मिडियामा ठाउँ पाउने छैन भनी सुनिश्चित गर्न हामी आग्रह गर्छौं,’ परराष्ट्रले भनेको छ। साभार सेतोपाटीबाट

मनपरे शेयर गरौ ! 

Related post