मनपरे शेयर गरौ ! 


हल्दिबारी
/ राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँपालिका हल्दिबारी झापाले गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन माथि भएको अभद्र व्यवहारप्रति गम्भिर चिन्ता प्रकट गर्दै घटनाको निन्दा गरेको छ ।

आज बसेको राप्रपा हल्दिबारीको बैठकले हल्दिबारीको सातौँ गाउँसभामा आम जनताको बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई प्राविधिक बहुमतको बन्दी बनाउँदै अभद्र व्यवहार गरेको जनाएको छ ।

राप्रपा गाउँपालिका हल्दिबारीले गाउँसभामा भएको घटना निन्दनीय भएको भन्दै यस्तो व्यवहारले प्रणाली माथि नै दीर्घकालिन असर पुर्याउने ठहर गरेको छ ।

राप्रपा हल्दिबारीले गाउँसभामा उत्पन्न विवाद समाधान गर्नेतर्फ नेकपाको तर्फबाट छलफल र सम्वादको माध्यमबाट समस्या समाधान गर्ने सकारात्मक प्रयास नगरेको आरोप लगाएको छ ।

अर्को पक्षबाट सकारात्मक प्रयास नभएपछि लामो समयसम्म गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर जनताको सेवा सुविधामै प्रभाव पार्ने काम गर्नु जिम्मेवार राजनीतिक दलका लागि उपयुक्त नहुने राप्रपाको ठहर छ ।

बैठकले समस्या समाधानका लागि तत्काल कानुनी उपचारको बाटो खोज्न राप्रपाले निर्वाचित प्रतिनिधिलाई निर्देशन गरेको छ ।

साथै बैठकले हालको नेकपाले विगतदेखि नै शत्रुवत व्यवहार गर्दै आएको र जनताको बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई समेत बाहुबलका आधारमा विस्थापित गर्न खोजेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।

बैठकले अन्य कतिपय राष्ट्रिय परिस्थितिका दृष्टिले पनि सरकारललाई समर्थन कायम राखि राख्न उचित नदेखिएको जनाएको छ ।

राप्रपाले झापामा गत संसद तथा प्रदेशसभा निर्वाचनमा तत्कालिन बामपन्थी गठबन्धनसँग सहकार्य गर्दै हालको नेकपा सरकारलाई समर्थन गर्दै आएको छ ।

हल्दिबारी गाउँपालिकाको असार १० गतेको रातौँ गाउँसभामा भएको झडपपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै राप्रपा हल्दिबारीको यस्तो निर्णय आएको हो ।

बैठकले संगठन विसतार गर्न र गाउँसभामा भएको घटनाको सत्यतथ्य आम जनता र कार्यकर्ता तहमा पुर्याउन वडा र टोल स्तरीय बैठक गर्ने निर्णय गरेको छ ।

त्यसैगरि छलफल सम्वाद र निकासका लागि दिलकेशर थापाको संयोजकत्वमा देवीबहादुर थापा, एकराज रानामगर, सन्तकुमार थापा र खिवराज भट्टराई सदस्य रहने गरि एक समिति निर्माण गरेको जनाएको छ ।

मनपरे शेयर गरौ !