• August 10, 2020

‘एकका लागि एक अभियान’लाई जिल्ला सहकारी संघले दियो २५ लाख रुपैयाँ

 ‘एकका लागि एक अभियान’लाई जिल्ला सहकारी संघले दियो २५ लाख रुपैयाँ
मनपरे शेयर गरौ ! 


बिर्तामोड / जिल्ला सहकारी संघ झापाले पीसीआर ल्याब स्थापनार्थ ‘एकका लागि एक अभियान’लाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बिर्तामोडमा आयोजित एक कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतलाई संघका अध्यक्ष गणेश ढकालले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहकारी संघले झापामा पीसीआर ल्याब स्थापना गर्ने एकका लागि एक अभियानलाई उक्त रकम सहयोग गर्ने यस अघि नै घोषणा गरेको थियो ।

अभियानलाई जिल्ला सहकारी संघले झापा जिल्लाका सहकारीको समन्वयमा संकलित रकम एकका लागि एक अभियानलाई हस्तान्तरण गरेको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष ढकालको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उप्रेतीले एकका लागि एक अभियानले झापामा पीसीआर ल्याब स्थापना गर्ने जस्तो पवित्र कार्यको अगुवाई गरेकोमा धन्यवाद दिँदै अभियानमा एनएमसीले पनि महत्वपूर्ण योगदान गर्ने आश्वासन दिए ।

कार्यक्रममा संघका अध्यक्ष ढकालले जिल्लाका सहकारीको छाता संगठनको हैसियतले संघले समन्वय मात्र गरेको तर अभियानलाई सबै सहकारीको उत्तिकै योगदान रहेको जानकारी दिए ।

संघको समन्वयमा हालसम्म २२ लाख रुपैयाँ भन्दा बढी जम्मा भइसकेको र अरु रकम जम्मा हुने क्रममा रहेको जनाउँदै उनले अहिलेलाई संघको खाताबाटै उक्त रकम भूक्तान दिने व्यवस्था गरेको जानकारी दिए ।

अभियानका सहसंयोजक बस्नेतले एकका लागि एक अभियानले यती बुहत रुप लिन्छ भन्ने अपेक्षाले काम शुरु नगरिएको बताए ।

समुदाय, सरकार र सहकारीको साझेदारीमा यो अभियानले समर्थकता पाएको भन्दै उनले पीसीआर ल्याब मेसिन जडानको प्रकृया अघि बढी सकेकोले अभियानलाई शंका नगर्न सबैलाई आग्रह गरे ।
उनले कोभिड अस्पताल चाँडै शुरु गरेर सरकारलाई हस्तान्तरण गर्ने पनि बताए ।

अभियानलाई मोटरसाइकल तथा स्पेयर पार्टस व्यवसायीको तर्फबाट २१ हजार रुपैयाँ नगद संस्थाका अध्यक्ष उपेन्द्र बानियाले हस्तान्तरण गरे ।

त्यस्तै, अभियानलाई नेपाल यातायात स्वतन्त्र मजदुर संघको तर्फबाट ५ हजार एकसय रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अभियानलाई सहयोग गर्ने जिल्लाका विभिन्न ढेड दर्जन बढी सहकारी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सहकारी संघका सहसचिव भवानी प्रसाद दंगालले गरेका थिए भने स्वागत संघकी उपाध्यक्ष गीता कुँवरले गरेकी थिइन् ।

सो अवसरमा अभियानका अन्य अभियन्ताहरुको पनि उपस्थिति थियो ।

मनपरे शेयर गरौ ! 

Related post