सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

काठमाडौ / सचिवका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
सचिव दौडमा सिफारिस भएका ३ जना मध्ये चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मधु मरासिनिको नाम छ ।
रिक्त एक जना सचिव पद (विशिष्ट श्रेणी) का लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुकोे नाम सिफारिस गरेको हो ।
तीनमध्ये सहसचिव दुवाडी यसअघिको दुई पटकको सिफारिसमा पहिलो नम्बरमा थिए ।
उनीभन्दा वरिष्ठ सहसचिव श्रेष्ठले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा हालै सफाइ पाएपछि उनको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ ।
विशेष अदालतबाट मुद्दा जितेपछि गत साता मन्त्रिपरिषद् कार्यालयले उनको निलम्बन फुकुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो ।
श्रेष्ठको निलम्बन फुकुवाको भोलिपल्ट बसेको बढुवा सिफारिस समितिको बैठकले श्रेष्ठको नाम पहिलो नम्बरमा राखेर सिफारिसमा गरेको हो ।
वरिष्ठ सहसचिवहरुमध्येबाटै सचिव बढुवा सिफारिस गर्नुपर्ने कानुनी प्रावधानअनुसार उनी पहिलो नम्बरमा परेका हुन् ।
सञ्चार मन्त्रालयमा कार्यरत दुवाडीको नाम यो पटक दोस्रो नम्बरमा परेको छ । सहसचिव श्रेष्ठविरुद्ध एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ ७६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ को पुसमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
एकदेखि तीन नम्बरसम्मका जोसुकैलाई सरकारले सचिवमा बढुवा गर्न सक्ने आयोगले जनाएको छ ।
अहिले दोस्रो नम्बरमा सिफारिसमा परेका दुवाडी र तेस्रो नम्बरमा सिफारिस भएका मरासिनीमध्ये जोसुकै सचिवमा बढुवा हुन सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
यसअघि जेठमा पनि दुवाडी पहिलो, मानबहादुर बिके दोस्रो र विष्णुप्रसाद नेपालको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो ।
तर, सरकारले तेस्रो नम्बरका नेपाललाई सचिवमा बढुवा गरेको थियो ।