राष्ट्रिय खेलकुद परिषदमा कोइराला र सिलवालले लिए सपथ

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनीहरुले बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग सपथ लिएका हुन् ।
सपथअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दुवै जनालाई नियुक्ति पत्र प्रदान गरेका थिए ।
सिलवाल दोस्रो पटक राखेपको सदस्य सचिव नियुक्त भएका हुन् । २०७६ साल असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव बनेका सिलवाल नयाँ ऐन कार्यान्वयनमा आएपछि असार १७ गते पदमुक्त भएका थिए ।
अहिले नयाँ खेलकुद ऐनअनुसार ४ वर्षका लागि नियुक्त भएका हुन् ।
यस्तै नेपाल तेक्वान्दो युनियनका अध्यक्ष तथा नेपाल खेलकुद महासंघको सहसंयोजक रहेका शिव कोइराला राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् ।
उनी १३औं सागमा प्रचार प्रसार समितिका संयोजक थिए ।