• October 22, 2020

श्रम प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमा आफ्नै कर्मचारीबाट आक्रमण

 श्रम प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमा आफ्नै कर्मचारीबाट आक्रमण
मनपरे शेयर गरौ ! 

विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा आक्रमण भएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा छबि बनाएका सरकारी कर्मचारी नेपाल सरकारका उप–सचिव सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेर रगताम्य भएको प्रहरीले जनाएको छ ।

सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए ।

त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

सञ्जेल प्राय सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् ।

मनपरे शेयर गरौ ! 

Related post