मानिसको पसिना सुँघेर कोरोना पत्ता लगाउने प्रयास

एजेन्सी / चिलीमा मानिसको पसिना सुँघेर कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउने प्रयास भइरहेको छ ।
यसका लागि चिलीका प्रहरी अधिकारीले स्निफर कुकरलाई तालिम दिइरहेका हुन् । यसअघि बेलायतमा पनि कुकुरलाई यस्तै तालिम दिइएको थियो भने परिणाम पनि राम्रै आएको थियो ।
चिलीमा पहिलो चरणको त्यस्तो तालिममा चारवटा स्निफर कुकुरलाई राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
राजधानी सेन्टियागोमा उक्त तालिम सञ्चालन भइरहेको छ । तालिममा समावेश कुकुरलाई विशेष प्रकारको जैविक ज्याकेट प्रदान गरिएको छ ।
स्निफर कुकुरलाई लागुऔषध, विस्फोटक पदार्थ तथा अपराधी पत्ता लगाउन प्रयोग गर्ने गरिएको भए पनि पछिल्लो समय मलेरिया, क्यान्सर तथा पार्किनसन्सजस्ता रोग पहिचानका लागि पनि परिचालन गर्न थालिएको छ ।