आँबुखैरेनी गाउँपालिका तीन दिन बन्द

तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि सिल गरिएको छ ।
एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको हो ।
गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार शनिबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा संक्रमण देखिएका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो ।
साउन १४ गते उनीसहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएकोमा त्यसमध्ये क्वारेन्टिनमा बसेका आठै जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको रिपोर्ट मात्रै पोजेटिभ आएको थियो ।
संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुबाट दिइने सेवाप्रवाह मंगलबारसम्म बन्द गरेर कर्मचारीहरुको परीक्षण थालिएको डोटेलले बताए ।