• December 1, 2020

मजदुरको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न चिया श्रमिकको माग

 मजदुरको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न चिया श्रमिकको माग
मनपरे शेयर गरौ ! 


बिर्तामोड / चिया श्रमिकका तीन संगठनले मजदुरको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न माग गरेका छन् ।

झापाका चिया श्रमिकले पारिश्रमिक बृद्धि लगायत चार सुत्रिय माग राखि नेपाल चिया उत्पादक संघ झापालाई माग पत्र पेश गरेका छन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, चिया बगान श्रमिक संघ र नेपाल चिया मजदुर संघले टे«डयुनियन र रोजगारदाता बिच विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पुन ४ सुत्रिय माग गरेका हुन् ।

श्रमिक संघले टे«डयुनियन र रोजगारदाताबीच भएका सहमति पूर्ण कार्यान्वयन भए मात्र सम्बन्ध सुमधुर हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अन्यथा बिगतमा जस्तै आन्दोलन गर्न बाध्य हुने पनि उनीहरुले बताएका छन् ।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भएकोले २०७७ साउन १ गतेदेखि लागू हुने गरी आफूहरुको पारिश्रमिक बृद्धि गर्न चिया श्रमिकहरुले माग गरेका हुन् ।

श्रम ऐनअनुसार पारिश्रमिक बृद्धि गरिनुका साथै पत्ति डबली समय अनुकुल बृद्धि गर्न माग गरेका छन् ।

उनीहरुले यसअघि बृद्धि गरिएको दैनिक १०७ बराबरको रकम अहिलेसम्म नपाएको भन्दै त्यसलाई यथाशिघ्र भुक्तानी गर्न समेत माग गरेका छन् । २०७५ साउन १ देखि बृद्धि भएको सो रकम भुक्तानी दिइसक्ने २०७६ बैशाख ३० गते संझौता भएको थियो ।

पारिश्रमिकबाट कट्टा गरिएको सञ्चय कोषको रकम सम्बन्धित निकायमा जम्मा नगरिएको भन्दै श्रमिक संगठनहरुले सबै चिया श्रमिकहरुलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेका छन् ।

साथै कोरोनाको यस महामारीमा जोखिम मोलेर दैनिक काम गरिरहेका श्रमिकहरुका लागि पर्याप्त सुरक्षाको व्यवस्था नभएको भन्दै महामारीबाट बच्न आबश्यक सुरक्षा सामग्रीको उचित व्यवस्था गर्न माग समेत गरेका छन् ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले माग पत्र पेश गरेका हुन् । सो अवसरमा नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा र नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राईले बोलेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post