मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाको भोली बस्ने दोस्रो गाउँसभामा प्रस्तुत हुने रणनीति तय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हल्दिबारी संसदिय दलको बिस्तारित बैठक आज सम्पन्न भएको छ ।

नेकपा हल्दिबारी संसदिय दलको बैठकले असार १० गते भएको पहिलो गाउँसभाले पारित गरेको आर्थिक विधेयक र विनियोजन विधेयक प्रमाणित नभएर नागरिकले सास्ती खेप्नु परेकोले भोली बस्ने गाउँसभामा त्यसलाई प्रमाणित गराउन पहल गर्ने निर्णय गरेको नेकपा स्रोतले जनाएको छ ।

गाउँसभाको दोस्रो बैठकमा पहिलो बैठकले पारित गरेको नीति तथा कार्यक्रमलाई कडाइकासाथ प्रमाणित गराउने रणनीति तय गर्न गाउँसभा बस्ने अघिल्लो दिन बैठक बसेको स्रोतले जनाएको छ ।

गाउँपालिकालाई अनिर्णयको बन्दी हुनबाट जोगाउन समस्याको गाँठो फुकाउन भएका प्रयत्न विफल भएपछि गाउँपालिकाका बहुमत सदस्यले चाँडै गाउँसभा बैठक डाक्नु पर्ने भन्दै अध्यक्षलाई हस्ताक्षर बुझाएपछि सोमबार दोस्रो गाउँसभा हुन लागेको हो ।

नेकपा संसदिय दलका नेता डम्बरबहादुर गिरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सांसद पूर्णप्रसाद राजवंशी, संसदिय दलका उपनेता राजेन्द्र योङहाङ, नेकपा गाउँपालिका अध्यक्ष याम राई र नेता सागर पोर्तेल लगायतको उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जारी गतिरोध अन्त्यका लागि पहल नगरेका कारण समस्या भएकोले सुझाव दिन पार्टी संसदिय दलको बैठक डाकिएको नेकपा हल्दिबारीका अध्यक्ष याम राईले बताए ।

हल्दिबारी गाउँपालिकामा असार १० गते बसेको सातौँ गाउँसभा विथोलिएपछि गाउँपालिकाबाट पाउने नाता प्रमाणित, नागरिकताको सिफारिस जस्ता आवश्यक सेवाबाट स्थानीय डेढ महिनादेखि बन्चित हुनु परेको थियो ।

गाउँसभाबाट आर्थिक विधेयक र विनियोजन विधेयक प्रमाणिकरण नहुदा नागरिकले सास्ती खेप्नु परेको हो ।

यस अघि हल्दिबारी गाउँपालिकामा जारी गतिरोघ अन्त्यका लागि पटक पटक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच अनौपचारिक बैठक बसेपनि निकास निस्कन सकेको थिएन ।

हल्दिबारीको भोली बस्ने दोस्रो गाउँसभा बैठकले डेढ महिनादेखिको विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।

दोस्रो गाउँसभा बस्नु अघि अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरी बीच गतिरोध अन्त्यका लागि छलफल गरि सहमति भइसकेको प्रवत्ता सागर पोर्तेलले जानकारी दिए ।

मनपरे शेयर गरौ !