सुरक्षा टोली मतदान स्थलतर्फ परिचालन

राष्ट्रिय समचार

पाँचथर । पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा टोली मतदान स्थलतर्फ परिचालन गर्न थालिएको छ । यसै क्रममा पाँचथरका अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा निकायको टोली पठाइएको छ । २० वटा अतिसंवेदनशील र ६६ वटा संवेदनशील मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाइएको सुरक्षा समिति पाँचथरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले जानकारी दिए । पाँचथरमा ८ सय ६२ जना म्यादी प्रहरी र ७ सय १९ नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । १ सय मतदान स्थल र १ सय ६५ मतदान केन्द्र रहेको जिल्लामा १ लाख २५ हजार २ सय १९ मतदाता छन् ।