प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

काठमाडौं– तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने।

२०३८ असार १७ गते चितवनको शिवनगरमा जन्मेका प्रकाशले जनयुद्धमा भूमिगत जीवन देखि पार्टी शान्ती प्रक्रियामा आएपछि अध्यक्ष दाहालको सचिवालय सम्हाले । आफ्ना पिता तथा पार्टी अध्यक्ष दाहालको सचिवालयमा रहेर सूचना प्रवाह तथा व्यवस्थापनमा गरेको सहयोगको पार्टी पंति भित्र प्रसंशा हुनेगर्छ । प्रकाशको आइतबार बिहान ३६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् ।

जनयुद्धको समयमा प्रकाशको संगत गरेका डा.बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार उनको व्यक्तित्व बाहिर देखिए जस्तो हल्का थिएन । ‘जनयुद्धकै समयमा उहाँसँग भारतमा मेरो भेट भएको हो । प्रकाश दाई मनको सफा हुनुहुन्थ्यो’ पाण्डेले भने, ‘हाँसो रमाइलो गर्न मन पराउने र साथीहरुसँग मिलनसार हुनुहुन्थ्यो।’