झापाका ३१ हजार ७ सय ६८ घरधुरीका मानिस खुल्ला शौच गर्छन

समाचार समाज स्वास्थ्य

गोपिन पोखरेल
विर्तामोड ४ मंसीर
दिसा पिसाब विसर्जनका लागि शौचालय बनाउनुपर्छ भन्ने ज्ञान नहुँदा झापाका ३१ हजार ७ सय ६८ घरधुरीका मानिस खुल्ला ठाँउमा शौच गर्न बाध्य छन् ।
झापामा कुल १ लाख ८० हजार ९ सय ८२ घरधुरी छन् । जसमध्ये १ लाख ४९ हजार २ सय १४ घरधुरीले मात्र शौचालय निर्माण गरेको एक तथ्याङकले देखाएको छ । कुल घरधुरी मध्ये १७.५५ प्रतिशत मानिसका घरमा शौचालय छैन् । ति मानिसहरु अहिले पनि खुल्ला चौर , बाँसघारी , खोलाकिनार र झाडीमा शौच गर्छन् भने ८२.४५ प्रतिशत घरधुरीले शौचालय बनाएका छन् । मानिसमा सरसफाई सम्बन्धि चेतना नहुँदा खुल्ला ठाउँमै शौच गर्ने गरेको ग्लोबल सेनिटेशन फन्डका जिल्ला संयोजक विनोदकुमार शर्मा बताउछन् ।
सरकारको सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१७ सम्ममा नेपालका सबै घरधुरीमा शौचालय निर्माण भईसक्नु पर्छ । नेपाल सरकारले २०६८ साल साउन १९ गते तत्कालिन मन्त्रिपरिषदबाट सरसफाई सम्बन्धि गुरुयोजना २०६८ स्विकृत गरी पूर्व राष्ट्रपति रामवरण यादवबाट १२ असोज ०६८मा सरसफाइ गुरुयोजना सार्वजनिक गरेको थियो । सो गुरुयोजना अन्र्तगत सन् २०१७ सम्ममा नेपालका सबै घरधुरीमा चर्पी निर्माण गरीसक्ने लक्ष्य राखिएको थियो । तर, सो अवधि पुरा हुन ४० दिन बाँकी रहँदा नेपालका ४२ जिल्ला मात्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएका छन् । ३३ जिल्लाका सबै घरधुरीमा अझै शौचालय बन्न बाँकी छ । २०६८ सालबाट सुरु भएको खुल्ला दिसामुक्त राष्ट्रिय अभियान झापामा सन् २०१६ मै घोषणा भैसक्नुपर्ने थियो । तर, सरकारी ढिलासुस्ती र खुल्ला ठाँउमा दिसापिसाव गर्ने बानी परेका मानिस स्वयं नै अग्रसर नहँदा सन् २०१७ डिसेम्बर महिना सम्ममा सो अभियान पुरा गर्ने लक्ष्य राखिएको छ । तोकिएको लक्ष्य पुरा गर्नका लागि दैनिक कम्तिमा ७ सय ६ वटा शौचालय निर्माण हुनुपर्दछ । नभए पुरा गर्न कठिन हुने खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोम पोर्तेल बताउछन् । उनका अनुसार सकेसम्म सबै घरधुरीमा शौचालय निर्माण गरी सिध्याउने नसके सो अवधिसम्ममा ९५ प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको छ ।
झापामा १५ वटा स्थानिय तह छन् । जस मध्ये बुद्धशान्ति गाँउपालिका मात्रै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । अन्य १४ स्थानीय तह घोषणा हुन बाँकी छ । झापाको गौरीगञ्ज गाँउपालिकामा सबैभन्दा कम ४३.७६ प्रतिशत घरधुरीले मात्र शौचालय निर्माण गरेका छन् । गौरीगञ्जको कुल ८ हजार ६७ घरधुरी मध्ये ३ हजार ५ सय ३५ घरमा मात्र शौचालय छ । ४ हजार ५ सय ४१ घरधुरीका मानिस अहिले पनि झाडी , खोलाकिनाार र खुल्ला ठाँउमा शौच गर्ने गर्दछन् । एता कचनकवल गाँउपालिकाको ९ हजार ६६ घरधुरी मध्ये ४ हजार ९ सय ७९ घरधुरीमा शौचालय छैन । कचनकवलमा ४५.०८ प्रतिशत घरधुरीमा मात्र शौचालय रहेको छ । त्यस्तै, झापा गाँउपालिकाका ७ हजार ३६ घरधुरी मध्ये ३ हजार ७ सय ८५ घरधुरीले मात्र चर्पी प्रयोग गर्ने गर्दछन् भने ३ हजार २ सय ५१ घरधुरीका मान्छे बाहिरै शौच गर्ने गर्दछन ।
कन्काई नगरपालिकामा ९३.६३ प्रतिशत घरधुरीमा शौचालय छ भने हल्दिबारी गाँउपालिकामा ९६.७६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको तथ्याङक छ । त्यसैगरी मेचीनगर नगरपालिकामा ८५.९१ प्रतिशत घरमा शौचालय बनेको छ । कमल गाँउपालिकामा ८६.१४ प्रतिशत र बाहदशी गाँउपालिकामा ७८.३७ प्रतिशत घरमा शौचालयको पहुँच पुगेको छ । भद्रपुर नगरपालिकामा ८२.२६ प्रतिशत घरधुरीले शौचालय निर्माण गरेको छ भने १७.७४ प्रतिशत घरधुरीका मानिस अहिले पनि शौचालय बाहिरै शौच गर्ने गर्दछन । शिवसताक्षीमा ८६.६५ प्रतिशत घरधुरीले शौचालय निर्माण गरेको पाइएको छ । पूर्वको व्यापारीक शहर विर्तामोड नगरपालिकामा ८६.८ प्रतिशत खुल्ला दिसामुक्त नगरपालिका भएको छ । विर्तामोडमा अझै १३.९२ प्रतिशत घरधुरीले शौचालय प्रयोग गर्न बाँकी छ । बुद्धशान्ति पछाडी सबैभन्दा धेरै दमक नगरपालिकाका ९८.६४ प्रतिशत घरधुरीले शौचालय प्रयोग गर्ने गरेको तथ्याङ्क छ ।
झापालाई आगामी पुस १५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानलाई निश्प्रभावि हुन नदिन सरोकारवाला निकायको भुमिका खोज्ने क्रममा कार्तिक ३० गते जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले विर्तामोडमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । सो कार्यक्रममा झापाका ८२.४५ प्रतिशत घरधुरीमा शौचालय भएको र १७.५५ प्रतिशत घरधुरीमा शौचालय नभएको तथ्याङ्क खानेपानी तथा डिभिजन कार्यालय झापाका प्राविधिक रुद्र न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले खुल्ला दिसामुक्त क्षेत्रका लागि सञ्चारमाध्यमले प्रकाशन प्रशारण गरेका सरसफाई सम्बन्धि समाचारको तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यस्तै, ग्लोबल सेनिटेशन फन्डका विनोद शर्माले सहजीकरणको कमी र मानिसमा चेतना अभावका कारण अभियानले मुर्तरुप लिन नसकेको धारणा राखेका थिए ।
विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) र संयुक्त राष्ट्रसंघीय वालकोष (यूनिसेफ) को संयुत्त प्रतिवेदन अनुसार अहिले पनि विश्वका ४० करोड भन्दाबढी मानिसले शौचालय प्रयोग गर्दैनन् । जथाभावि दिसापिसाव गरेका कारण विभिन्न संक्रमणबाट वर्षेनी ५ वर्ष मुनिका ६ हजार ५ सय वालवालिकाको ज्यान जाने गरेको छ ।