नाङखोल्याङलाई नमुना गाउँ बनाउने प्रवासीको अठोट

देशबाहिर समाज

रुपेश अधिकारी /
युएई,-
विभिन्न जिल्लाबाट विदेश पुगेर बसोबास गर्ने नेपालीहरू संगठित हुने क्रम बढ्दो छ । उनिहरु संगठित हुनुको कारण एकअर्कोमा सहयोग र आफनो गाँउठाँउको विकासमा केहि योगदान दिने उद्धेश्य हो । यिनै संस्थाहरुको भिडमा रहेको ताप्लेजुङ समाजमा आवद्ध रहेका नाङ्खोल्याङबासीले प्रवासी एकता नामक संस्था स्थापना गरि सामाजिक तथा दुःख सुखमा सहयोग गर्न लागि परेका छन् । विभिन्न देशमा प्रवाशी जिवन बिताइरहेकालाई सामाजिक सञ्जालबाट समेटेर आफ्नो गाउँ आफै बनाऊँ भन्ने अभियानमा जोडिएको नाङ्खोल्याङ प्रवास एकता समाजका अध्यक्ष धनेन्द्र खतिवडाले बताए । सामाजिक सञ्जालको प्रयोग सँगै बढ्दै गएको विकृति रोक्न समेत आफुहरुले यो अभियान थालेको खतिवडाको भनाई छ । युएइबाट सुरु भएको अभियान साउदी, कतार, कुवेत हुदै अहिले मलेसियासम्म विस्तार भएको छ । गाँउघरमा आइपरेका समस्यालाई आफै मलमपट्टि लगाउने प्रयास उनिहरुले गरिरहेका छन् । यहि क्रममा युएइका सक्रिय सदस्य धनेन्द्र कार्कीका भाइ हरि कार्कीको केहि महिना अघि निधन हुदाँ समाजका तर्फबाट काजक्रिया खर्च स्वरुप २० हजार रुपयाँ सहयोग गरिएको थियो । त्यस्तै कुबेतमा कार्यरत संस्थाका सक्रिय सदस्य बेगम गुरुङको निधनमा समेत काजक्रिया खर्च स्वरुप ८२ हजार रुपैया सहयोग गरिएको खतिवाले बताए । मृतक गुरुङकोे ५ वर्षिया छोरीको शिक्षाका लागि समेत सहयोग गरिएको उनले बताए । यस्तै प्यारालाइसिजबाट थलिएर उपचार गराइरहेका नाङ्खोल्याङका काजिमान खिम्दिङ लिम्बूकोे उपचारमा समेत समाजको तर्फबाट तत्काल १० हजार रुपयाँ सहयोग गरेको थियो ।
आफू जन्मेको गाउँ ठाँउलाई माया गरि प्रदेशमा रहँदा खाजा खर्च कटाएर गाँउका लागि हरेक महिना केहि रकम संकलन गर्ने गरिएको छ । सामाजिक सञ्जालको नेट्वकमा दुईसय भन्दा बढि नाङखोल्याङबासी आवद्ध छन् । पछिल्लो ६ महिनामा ३ लाख ५० हजार रुपयाँ रकम संकलन भइसकेको अध्यक्ष खतिवडाले जानकारी दिए ।
गाउँमा आपत बिपत र विकासमा सहयोग पुर्याउने हेतुले अभियान शुरु गरे लगतै विभिन्न सहयोग प्राप्त भइरहेको उनको भनाई छ । अब अन्य देशमा रहेका ताप्लेजुङबासीलाई पनि यो नेटवर्कमा जोड्ने र केहि रकम संकलन भएपछि नाङखोल्याङलाई जिल्लाको एउटा नमुना गाउँको रुपमा चिनाउने उद्धेश्य रहेको अध्यक्ष खतिवडाले बताए .