बाँसबाटै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने

आर्थिक समाचार पर्यावरण

बिर्तामोड : तहल्का सम्बाददाता/मङ्सिर ६, बुधबार

बासँमा आधारित सामुदायिक परियोजनाहरु सञ्चालन गरिहेको अभियान नेपालले बासँबाट भुकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने आधारहरु प्रस्तुत गरेको छ । आज विर्तामोडमा आयोजित घर (आवास) निर्माणमा बाँसको उपयोगिता विषयक एक कार्यशाला मार्फत उक्त जानकारी गराएको हो । सन २००९ देखि ह्याविटाट फर ह्ूम्यानीटीसँगको साझेदारीमा बासँमा आधारित विभिन्न परियोजना सञ्चालन गरी १०० को संख्यामा घरहरु निमार्णका क्रममा प्राप्त अनुभवहरुलाई उक्त कार्यशालामा प्रस्तुत गरिएको थियो ।

ह्याविटाट फर ह्यूम्यानीटी नेपालको सहयोगमा अभियान नेपाल र जिल्ला वन कार्यालयसँगको संयुक्त आयोजना गरिएको कार्यशालामा बासँको उत्पादन, संरक्षण, सम्बर्वद्धन, प्रसोधन, बासँमा आधारित उत्पादनहरु र निर्माण सामग्रीको रुपमा बासँको उपयोगितलाई सुक्ष्म ढंगबाट छलफल गरिएको थियो । कार्यशालाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति श्री सोम पोर्तेलले विकासलाई भौतिक संरचनासँग मात्र नजोडेर आर्थिक उपार्जनका लागि उत्पादनसँग जोडनु पर्ने त्यसका लागि बासँको बहुआयामिक उपयोगितालाई महत्वपूर्ण स्थान दिनु पर्ने कुरा राख्नु भएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले बासँको सम्भावना अधिक रहेको यसलाई दीर्घकालिन योजना अनुसार अघि बढाउन सके वनविनासको न्यनिकरण, सबैका लागि आवास र आर्थिक वृद्धि तर्फ सामाजलाई अग्रसर गराउन सकिने यसका लागि नीजि क्षेत्र र सरकारका तर्पmबाट एकिकृत पहल हुनु पर्ने कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला भूसंरक्षणका अधिकृत हृदयकन्ता झा, गैरसरकारी संस्था महासँघ झापा शाखाका अध्यक्ष छविलाल खतिवडा, टाङ्गटिङ्ग जलाधार संरक्षण समितिका सदस्य रामकुमार आछामी, सामुदायिक वन उपभोक्ता समितिहरुको तर्फबाट गंगाराम ढुंगेल लगायतका वक्ताहरुले बासँको उच्चतम र व्यावसायिक उपयोगितामा लगानी वृद्धि गर्नु पर्ने र यसमा सरकार र नीजि क्षेत्रको साझेदारी रहनु पर्ने कुरामा जोड दिनु भएको थियो । त्यसै गरी पूर्व सांसद प्रेमगिरीले समेत आफूले बासँको क्षेत्रमा गरेका कामहरुको अनुभव, समस्या र चुनौतीहरुबारे प्रकाश पार्दै झापा जिल्लालाई बासँको राजधानीको रुपमा विकास गर्न सकिने आधार तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्नू भएको थियो । कार्यक्रममा ह्याविटाट फर ह्यूम्यानिटीको तर्फबाट पूर्व क्षेत्रीय कार्यक्रम प्रबन्धक सन्दिप पौडेलले ह्याविटाटले बासँको क्षेत्रमा कामको अनुभव आदान प्रदान गर्नु भएको थियो ।


कार्यक्रममा अभियान नेपालले बासँको क्षेत्रमा हालसम्म गरेका गतिविधिहरुबारे अभियान नेपालका कार्यक्रम निर्देकश लोकप्रिय खनाल, कार्यक्रम प्रबन्धक लक्ष्मी आलेले समेत कार्यशालालाई सहजीकरण गरेका थिए । कार्यक्रम अभियान नेपालका अध्यक्ष श्री प्रसादकुमार गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।