सम्बृद्धिको मुद्धामा साझा प्रतिबद्धता ल्याउन नसकेसम्म जनताका चाहना पूरा गर्न नसकिने : शर्मा

निर्बाचन २०७४

मेचीनगर,१० मंसीर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद झापा क्षेत्र नम्बर १ का उम्मेद्वार विश्वप्रकाश शर्माले व्यवस्था परिवर्तनमा राजनीतिक दलहरु बीच एकता कायम भए जस्तै सम्बृद्धिको मुद्धामा साझा प्रतिबद्धता ल्याउन नसकेसम्म जनताका चाहना पूरा गर्न नसकिने बताएका छन् ।

भद्रपुर जेसीजको आयोजनामा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वारसित गरिएको सार्वजनिक प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले व्यवस्था परिवर्तन जसरी गरियो त्यसभन्दा एक कदम अगाडि बढेर देश बनाउने साझा प्रतिबद्धता ल्याउन सके नेपाल सम्बृद्ध बन्ने बताएका हुन् ।

आन्दोलन गर्ने नेतृत्वले देश बनाउने शील्पकला प्रस्तुत गर्न नसक्दा व्यवस्था परिवर्तन भए पनि शासकीय शैली परम्परागत हुँदा राजनीतिप्रति जनतामा निरासा छाएको भन्दै शर्माले राजनीतिमा कुशल कालीगढी मस्तिष्कको खोजी गर्नु पर्ने दिन आइसकेको जनाए । उनले नेपालको सम्बृद्धिमा विद्युतीकरणको उत्पादन पहिलो आधार बन्ने तर्क गर्दै साना आयोजना स्वदेशी लगानी र ठूला आयोजना विदेशी लगानीमा उत्पादन गरी आम्दानीको श्रोतविस्तार हुने दावी गरे ।

सहभागीहरुले हात्ती समस्याले पीडित भएको गुनासो राखेपछि शर्माले उत्तरी झापाको हात्ती समस्याहल गर्न सहयोगी भूमिका खेलेको स्मरण गर्दै चन्द्रगढी लगायत दक्षिणी झापाको हात्ती समस्या हल गर्न प्रतिबद्ध भएर लाग्ने बचन दिए । उनले वेरोजगारी समस्या हल गर्न, कृषिमा आत्म निर्भर बन्न, स्वरोजगारको वातावरण बनाउन हाइट्रो पावर निर्मामा जोड दिए । उनले राजनीतिमा एकले अर्काको आलोचना गर्ने प्रवृत्ति त्यागेर सवैले सवैको अस्तित्व स्वीकार गर्न सक्ने राजनीतिक संस्कार निर्माणको आवश्यकतामा जोड दिए ।

भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यषतामा सम्पन्न कार्यक्रमा क्षेत्र नम्बर १ का प्रत्यासी ७ जना उम्मेद्वारलाई बोलाइएको भए पनि नेपाली काँग्रेस बाहेका अन्य उम्मेद्वारको उपस्थिति नहुँदा स्थानीय मतदाताले आश्चर्य समेत ब्यक्त गरेका थिए ।