चुनाब जिते गाँउमा हात्ती नआउने – उम्मेद्वार कार्की

निर्बाचन २०७४

बिर्तामोड १० मंसीर । झापामा वामगठवन्धनका उम्मेद्वारले पहिलो चरणको घरदैलो कार्यक्रम आइतवार सम्पन्न गरेका छन् ।

निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको घरदैलो, चुनावीसभा, अन्र्तक्रिया जस्ता कार्यक्रमलाई समापन गर्दै दोस्रो चरणको चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् । उम्मेद्वारले झापामा दोस्रो चरणको चुनावी प्रचारप्रसार अभियानलाई अझ तिव्ररुप दिने बताएका छन् ।

झापाको बिर्तामोडस्थित वडा नं. ७ का विभिन्न क्षेत्रमा प्रत्येक वर्ष जंगली हात्तीको समस्या हुने गरेकाले त्यसको व्यवस्थापन गर्दै जन जीवनको रक्षाका लागि रास्ट्रिय योजना बनाएर अघि बड्ने झापा क्षेत्र नं. २ को १ का प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीले गाँउमा हात्ती आउने कुरा एकादेशको कथामा सिमित हुने बताएका छन् । हात्तीका लागि भनेर रात छुट्याउनु नपर्ने गरि काम गर्ने बताए ।

यस्तै बिर्तामोड नगरपालिका वडा नं. ७ मा आइतबार भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रतिनिधिसभाकी उम्मेद्वार पवित्रा निरौला खरेलले स्थानीय मन्दिर, चर्च र गुम्बाको विकास गर्ने लगायतका कार्यमा स्थानीय तह सँगको सहकार्यमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । बिर्तामोड न पा ७ को सिताराम मन्दिर टोल, खालबाडी लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभा भएको छ । कार्यक्रममा मिर्तामोड नगरपालिका मेयर ध्रुबकुमार शिवाकोटी, माओवादी केन्द्रका अरुण श्रेष्ठलगायत स्थानीय वामगठवन्धनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिर्तामोड ८ स्थित गरामनी, बजार, ज्योति नगर लगायतका ५ स्थानमा कोणसभा तथा घरदैलो भएको छ । कोणसभालाई सम्वोधन गर्दै गरामनी दुर्गा मन्दिरका अध्यक्ष समेत रहेका कार्कीले मन्दिरको संरचनालाई ब्यवस्थित गर्दै धार्मिक पर्यटकीय स्थलको बिकास गरेर सबै धर्म समुदायको हितमा रहेर काम गर्ने बताएका छन् । लामो समयदेखि साविक गरामनीमा रहेर सेवा गरेकाले दलिय आस्था भन्दा माथी उठेर गठबन्धनलाई मतदान गर्न सवैसँग आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संम्योजक सोम पोर्तेल, समानुपातिक उम्मेद्बार जसमाया गजमेर रा प्र पा नगर कमिटी सहसंयोजक बिजय ओलि लगायत तीनसय ५० भन्दा वढिको उपस्थिति रहेको थियो । त्यसैगरी बिर्तामोड ८ को देवनियामा बर्षेनि हात्ती आउने स्थानमा मतदाताले उम्मेद्वारलाई अनुगमन गरिदिन आग्रह गरेका थिए । र अनुगमन गर्दै उम्मेद्वार कार्की, जिल्ला समन्वय समितिका संम्योजक पोर्तेलले हात्ती नियन्त्रणका लागि जिल्लाले निर्देशन दिएको र देवनिया खोला पारीबाट देवनिया चोकमा रहेको विद्यालयमा पढ्न आउने विद्यार्थीलाई लक्षित गरि झोलुङगे पुल निर्माण यसै वर्षभित्र सम्पन्न दृढता व्यक्त गरे ।

झापा क्षेत्र नं. २ को २
झापा क्षेत्र नं. २ को २ का प्रदेशसभाका उम्मेद्वार विर्ख प्रधानको टालीले अर्जुनधारा नगरपालिका १० का विभिन्न गाउँ र टोलमा घरदैलो र चुनावी सभा गरेको छ । चुनावी अभियानकै क्रममा कालिझोडा र बुद्धशान्तिको सामामझुवामा चुनावी सभा र घरदैलो भएको थियो । सभालाई उम्मेद्वार विर्ख प्रधानले सम्वोधन गरेका थिए । कार्यक्रममा एकसय भन्दा वढी वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

झापा क्षेत्र नं. ३
झापा क्षेत्र नं. ३ कचनकवल गाउँपालिका वडा नं. ६ ठेक्काटोलीमा वामगठवन्धनको चुनावी सभा भएको छ । सभामा स्थानीय आदिवासी नेता अगनलाल राजवंशीले त्यहाँको समस्या र अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र लिङ्देन र प्रदेश सभाका उम्मेद्बार वसन्त वानियाले चुनावी प्रतिवद्धता प्रस्तुत गरेका थिए । वामगठवन्धनका स्थानीय नेता तथा कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

त्यसैगरी भद्रपुरका विभिन्न वडामा घरदैलो तथा मतदाता भेटघाट भएको छ । उम्मेद्वार लिङ्देन र बसन्त बानियासहित पूर्व सांसद जितु गौतम लगायतको उपस्थिति थियो । वाह्दशीको डाँगिवारीमा चुनावीसभालाई प्रतिनिधिसभाका उम्मेद्वार लिङ्देन, माओवादी केन्द्रका प्रतिनिधिसभाका समानुपातिक उम्मेद्वार विद्यानन्द राजवंशी, प्रदेशसभा २ का उम्मेद्वार पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिका मेयर जीवन श्रेष्ठ, पूर्व सांसद मोहन टुडु, पुष्प पोखरेलले लगायतले सम्वोधन गरेका थिए ।