खुल्ला दिसामुक्त घोषणा राष्ट्रको इज्जत ः अध्यक्ष पोर्तेल

शिक्षा समाज स्वास्थ्य

शिवसताक्षी , १० मंसीर ।  जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले खुल्ला दिसामुक्त घोषणा गर्नु राष्ट्रकै इज्जत र प्रतिष्ठाको विषय भएकोले सबै नेपालीले यस अभियानमा साथ दिनुपर्ने बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिकामा आयोजना गरिएको नगरपालिकास्तरीय सरसफाइ सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष पोर्तेलले भने, “नेपालले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा सन् २०१७ को डिसेम्बरसम्म नेपाललाई खुल्ला दिसामुक्त गराउने प्रतिवद्धता व्यक्त गरेकोले यस प्रतिवद्धतालाई पूरा गराउनु सबै नेपालीको कर्तव्य हुन आउँछ ।” जिम्मेवार नागरिकले राष्ट्रको इज्जत र प्रतिष्ठा बचाउनका लागि योगदान गर्नुपर्ने समेत उनले बताए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोदप्रसाद शर्माले सभ्यताको मुहानको रुपमा रहेको झापा जिल्ला सरसफाइमा पछाडि रहनु दूर्भाग्य भएको बताए । राजनीतिक आर्थिक रुपान्तरणमा नेपाललाई बाटो देखाउने झापाले अब आफूलाई पूर्ण सरसफाइयुक्त र दिगो सरसफाइमा नमूना बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका अध्यक्ष एवम् शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उपस्थित नगरवासीलाई पूर्ण सरसफाइ प्रवद्र्धनका लागि प्रतिवद्धता गराएका थिए । प्रतिवद्धतामा शिवसताक्षी नगरपालिकालाई २०७४ पौष १० गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने, संघसंस्था एवम् कार्यालयहरुमा प्रयोगकर्तामैत्री शौचालय निर्माण गर्ने, प्रत्येक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा लैंगिकमैत्री शौचालय निर्माण गर्ने, खुल्लामा दिसा गर्ने कार्यलाई सामाजिक अपराधको रुपमा लिंदै यसको निर्मूलनका लागि सबै प्रतिवद्ध बन्ने, सबै राजनीतिक अगुवाहरुले आफ्ना सदस्यहरुलाई सुरक्षित शौचालय निर्माणका लागि प्रज्वलित गर्ने उल्लेख छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, शिक्षा क्षेत्रबाट गणेश घिमिरे, सरसफाइ प्रवद्र्धन बाल क्लबका तुलसी निरौला, सामाजिक परिचालक कुमार साँवा लगायतले सरसफाइ प्रवद्र्धनका बारेमा बोलेका थिए ।

शिवसताक्षी नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटसँगको साझेदारीमा बिराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको छ ।