निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व कायम – नेम्वाङ

निर्बाचन २०७४ राजनीति राष्ट्रिय

विर्तामोड १० मंसीर । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्ने बताएका छन् ।

उनले निर्वाचनपछि जित्नेले पाँच वर्ष सरकार चलाउने र हार्नेले प्रतिपक्षीको भूमिकामा बस्नु पर्ने बताए । ‘सत्ता समीकरणका लागि मात्रै गठबन्धन बनाउने शैलीले मुलुकलाई उभो लगाउन सकेन’, प्रेस चौतारी र प्रेस सेन्टरले आइतवार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता नेम्वाङले भने , ‘अब दीर्घकालिन गठबन्धनका आधारमा मात्रै यो देशको विकास र समृद्धि सम्भव छ । बाम गठबन्धनले सरकार बनाउँछ ।’

राजनीतिक अस्थिरताको समाप्ति र लोकतान्त्रिक संस्कृति स्थापित गर्नका लागि पनि बाम गठबन्धनको आवश्यकता परेको भन्दै पूर्व अध्यक्ष नेम्वाङले समान विचार र सिद्धान्त बोकेका पार्टीहरु एक ठाउँ आउनुलाई अन्यथा लिन नहुने बताए । ‘एक पटक जनताले बाम गठबन्धनलाई मौका दिनेछन् भन्नेमा हामी विश्वस्त छौँ’, उनले । बाम गठबन्धनको विषयलाई लिएर प्रधानमन्त्री र मन्त्रीहरुले भ्रम र त्रास सिर्जना गर्न खोजेको भन्दै नेता नेम्वाङले कडा रोष प्रकट गरे । शान्तिपूर्ण र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्ने दायित्वप्रति सरकार उदासीन देखिएको भन्दै नेम्वाङले गृह मन्त्रालयको पोर्टफोलियो खोसेर प्रधानमन्त्रीले रमिता देखाएको टिप्पणी गरे ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सक्रियता बढ्दै गए पनि पूर्व अध्यक्ष नेम्वाङले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । ‘केही छिटपुट घटना भएका छन्न्’, उनले भने , ‘मतदातामा देखिएको उत्साहले पनि अब निर्वाचन रोकिदैन ।’ इलाम क्षेत्र नम्वर–२ बाट प्रतिनिधि सभाका उमेद्वार समेत रहनु भएका नेम्वाङले बामपन्थी गठबन्धनलाई जिताउन जनता आतुर रहेको बताए । उनले एक्लै जितिने क्षेत्रमा माओवादीसहितको गठबन्धन बनेकाले जीत अझै सुनिश्चित रहेको दावी गरे । ‘सात हजार भन्दाबढी मतले जित्छु’ उनले भने ।