कन्काई नगरपालिका वडा नं –६ पनि खुल्ला दिसामुक्त

शिक्षा समाज स्वास्थ्य

कनकाई, १० मंसीर । झापाको कनकाई नगरपालिका वडा नं. ६ आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ ।

५ सय ५३ घरधुरी रहेको सो वडामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ४ सय ५० घरमा सुरक्षित चर्पी रहेकोमा १०३ घरधुरीमा सुरक्षित शौचालयको निर्माण भै खुल्ला दिसामुक्त घोषणा भएको हो ।

९ वडा रहेको कनकाई नगरपालिकामा वडा नं. ८ र १ यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेको छ भने वडा नं. ९ अन्तिम गुणस्तर अनुगमन भई खुल्ला दिसामुक्त घोषणाको तयारीमा रहेको छ । कनकाई नगरपालिकालाई आगामी पौष २ गते खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेको छ ।

आइतबार आयोजित वडा नं. ६ को खुल्ला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कनकाईलाई झापाको पहिलो खुल्ला दिसामुक्त नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गरे । खुल्ला दिसामुक्त घोषणा पूर्ण सरसफाइको पहिलो पाइलामात्र भएको बताउँदै नगरप्रमुख पोखरेलले भने, “दिगो र पूर्ण सरसफाइको यात्रामा समेत कनकाई नमूनाको रुपमा विकास हुनुपर्छ, नगरपालिका योजनाका साथ अगाडि बढेको छ ।”

नगरपालिकाबाट निस्कने ठोस फोहरको समेत उचित व्यवस्थापनका लागि दिगो प्रकृतिको ल्याण्ड फिल साइट निर्माण गर्ने सोंच नगरपालिकाको रहेको समेत नगर प्रमुख पोखरेलले बताए ।

खुल्ला दिसामुक्त अभियानका क्रममा आफ्नो घरमा दुई दिनमा नै शौचालय निर्माण गर्ने शिवचरण मुर्मू र अभियानमा महत्वपूर्ण योगदान गर्ने शान्ता अधिकारी र विष्णु सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरे ।

वडा नं. ६ का अध्यक्ष एवम् वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष लक्ष्मीप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईं, विराट सामुदायिक अध्ययन केन्द्रका टोली प्रमुख पदम रेग्मी, कनकाई नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटसँगको सहकार्यमा बिराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको छ ।