जन्मदर्ता नहुँदा पढ्नबाटै बञ्चित

शिक्षा समाज

मेचीनगर । ‘न त आमा र बुबाको स्नेह पाइयो न त राज्यको नजरमा नागरिक हुने आशै रहयो, साँवा अक्षर पढ्दा पढ्दै तँ कसको कोखमा थिइस भन्ने कानुनी प्रमाण जुटाउन अहिले हामीले रुनु सिवाय केही पनि छैन । तर रुनु पो कसलाई सम्झेर । न त आमाले सुन्छिन् न त बाबाले सुन्छन् ।’ यी एकमुष्ट पीडा हुन मेचीनगर ५ सुरेन्द्रनगरका फुलमाया राई, सुनिता राई र सुमन राईको । यी नानीहरु जो आज जन्मदर्ताको कानुनी कागजको अभावमा आफ्नो भविष्यदेखि नै अलपत्र परेका छन् । जसको भविष्य निर्माणको आधार जन्मदर्ता नै पाउन सकेका छैनन् ।

मेचीनगर ५ सुरेन्द्रनगरका उनीहरु आज यहि पीडामा छन् । जसले आफ्नो जन्मदिने बुबा आमा नै नभएपछि जन्मदर्ता पाउन सकेका छैनन् । उनीहरु आफुलाई जन्मदर्ता बनाइदिन यतिबेला सबैसँग हार गुहार मागिरहेका छन् । एकातिर जन्मदर्ता नभएका कारण नागरिकता पाउने कुनै ठाउँ छैन भने अर्काेतर्फ उनीहरुको पढाइमा समेत मानसिक असर पर्दै गएको छ ।

‘सानैमा आमा अर्कैसँग जानु भयो बुबाको पनि निधन भयो’ १८ वर्षिय फुलमया राईले भनिन्–‘आज बुबा आमा नभएकै कारण हामी जन्मदर्ता पाउनबाट बञ्चित भएका छौँ । जसको बुबा आमा हन्छन् उनीहरुको सानैमा जन्मदर्ता बनिन्दो रहेछ । तर हामीले अहिलेसम्म यो अधिकार पाउन सकेका छैनौँ ।’

बालकल्याण मावि कक्षा ८ मा पढ्दै गरेकी फुलमाया जन्मदर्ता नबनेकै कारण अघिल्लो वर्ष विद्यालय छोडिन् । उनी अहिले चिया बगानमा मज्दुरी गर्छिन् । सुनिता पनि नपढ्ने मनासयले थुप्रै समय विद्यालय आइनन् तर विद्यालयले अस्थायी जन्मदर्ता बनाइदिएपछि बल्ल विद्यालय आएर पढ्न थालिन ।

बहिनी सुनिता कक्षा ९ मा पढ्दै छिन् । उनको पनि कक्षा ८ र ९ मा आवश्यक पर्ने जन्मदर्ता विद्यालयले अस्थायी रुपमा बनाइदिएर सिफारिस गरी फर्म भरिदिएको छ । तर उनी कक्षा १० मा पुग्दा अनिवार्य जन्मदार्ता आवश्यक पर्छ । यदि उनको जन्मदर्ता बन्न सकेन भने उनको एउटै मात्र विकल्प भनेकै विद्यालय छोड्नु हुन्छ । भाई समुन मेची विद्योदय प्राविमा कक्षा ४ मा अध्ययन गर्छन् ।

२०६२ सालमा बुबा रामबहादुर राई जेल परे । बुबा जेल परेको ४ वर्षपछि आमा शुकमाया राई (लिम्बू) अर्कैसँग बिहे गरिन् । ७ वर्षपछि जेलबाट निस्केर आउँदा श्रीमति घरमा नभएपछि उनी जेठी छोरीलाई लिएर श्रीमतिलाई भेट्न भारत गए । उनले छोरीलाई श्रीमतीसँग छोडेर नेपाल त फर्किए तर कहिलै पनि छोराछोरी सम्झेर मेचीनगरमा आएनन् । त्यसपछि सम्पर्क बिहिन बनेका राईको गत भदौमा निधन भएको खबर आयो । गौरादहमा बस्दै आएका उनी कहिले पनि छोराछोरीको सम्पर्कमा आउन चाहेनन् । यतिबेला उनीहरु बुबा आमाबिहिन भएपछि मामलमा बाजेबोजुसँगको साहरामा बस्दै आएका छन् भने छोरा सुमन उनका मामा साजन लावतीसँग मेचीनगर ८ मा बस्छन् ।

‘हाम्रो मनको चाहिने छानो बुबा आमा नै छैनन् हामीले के गर्ने ? सुनिताले रुदैँ भनिन्–‘नेपाली भएर पनि आफ्नो हक पाउन नसक्ने हामी कस्तो नेपालीका छोराछोरी ? न पढ्न नै पाइने भइयो न त आफ्नो अधिकार नै खोज्न पाइयो । विद्यालयमा फर्म भर्ने बेलामा जन्मदर्ता खोज्छ । सबै साथीले ल्याउछन् । तर, आफ्नो आधार केही छैन कहाबाट ल्याउने ?

कि हामीलाई नेपालीका छोराछोरी होइन भन्नु पर्यो कि जन्मदर्ता बनाइदिनु पर्यो ।’

सुनिताले स्थानीय निकायबाटै जन्मदर्ता बनिन्छ भन्ने कुरा बुझेकी छिन् । उनको जीवनको एउटै मात्र आग्रह आफ्नो जन्मदर्ता बनाइदिने हो । जसका लागि यो समाजले पनि सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।

उनीहरुको पुख्र्याैली घर दिक्तेल हो । सानैमा गाउँ छोडेर उनीहरुका बुबा झापा आए । यतै बसोबास गरे अनि विहे पनि यतै । अहिले उनीहरुको नजिकको बंसज भएको मानिस नै छैनन् । जे छन् मामली मात्र ।
बालकल्याण माविका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले स्थानीय स्तरको जनप्रतिनिधि र सर्वदलिय समितिको आधारमा प्रमाणित गरेर भए पनि राज्यले जन्मदर्ता उपलब्ध गराउनु पर्ने बताउँछन् । ‘अहिले त केही समयलाई विद्यालयले सिफारिस गरेको छ’ न्यौपानेले भने–‘तर, उनीहरु यो सानो समस्याले गर्दा जीवन्त नेपाली नागरिक हुनबाट बञ्चित हुँदैछन् । उनीहरुको भविष्यका लागि भए पनि राज्यले यो व्यवस्था गर्नुपर्छ ।’

राज्यले जन्मको आधारमा जन्मदर्ता र नागरिकता वितरण गर्छ । तर जसको बुबा आमा नै हुँदैनन उनीहरु यो सुविधा पाउनबाट बञ्चित छन् । नेपाली आमाको कोखबाट जन्मिएका उनीहरुका लागि बुबा आमा नभएकै कारण बञ्चित हुनु पर्ने बाध्यता छ ।

राज्यले यस्ता बालबालिकाको पहिचान गरेर जन्मदर्ता बनाइदिने व्यवस्था गर्नुपर्छ । नत्र नेपाली भएर पनि आफुलाई आत्माग्लानी हुने बाटो सृजना हुन जान्छ ।