पुलिसलाई पाखा लगाउँदै आर्मी फाइनलमा

खेलकुद स्थानीय

काकरभिट्टा । त्रिभूवन आर्मी काँकरभिट्टामा जारी मेची नेत्रालय काकरभिट्टा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ ।मङ्गलवार भएको पहिलो सेमीफाइनल खेलमा नेपाल प्रहरीलाई ३–० को गोल अन्तरले हराउँदै आमीले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो । शुक्रवार हुने फाइनल खेलमा आर्मीले बुधवार हुने दोस्रो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ मस्याङदीको विजेतासँग खेल्नेछ ।

आर्मीको जितमा दिनेश हेनजनले २ र प्रिन्स कार्कीले १ गोलको योगदान गरेका थिए । खेलको ५४ औँ मिनेटमा दिपक गुरुङको क्रसमा हेनजनले हेडर मार्फत सानदार गोल गरे । एक शून्यको दबाबमा रहेको पुलिसलाई पुनः अर्काे गोलको सामना गर्नु पर्यो । खेलको ६४ औं मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गरेर आफ्नो टिमलाई दुई शून्यको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै खेललाई ३–० को अन्तर बनाउँदै आर्मीको फाइनल यात्रालाई निश्चित गरेका थिए । कार्कीले वान भर्सेस वानमा विपक्षी गोलरक्षक रोशन खड्कालाई विट गर्दै जाली चुमाएका थिए ।

खेलको सुरु भएको १५ मिनेटमा आर्मीले पाएको मौकामा गोल गर्न सकेन । आर्मीका जर्ज प्रिन्स कार्कीको फलमा उनैले हानेको फ्रि किकमा विपरित खेलाडीलाई लागेर बल रिबाउन्ड भएको थियो ।

खेलको २४ औं मिनेटमा पुलिसका जुमानु राईको वान भर्सेस वानको मौकामा पनि गोल हुन सकेन । ३१ औं मिनेटमा आर्मीका भरत खवासले वान भर्सेस वान प्रहार गरेका थिए । उनको प्रहारमा पुलिसका डिफेन्डर दिनेश राजवंशी बाधक बने । खेलको ३५ औं मिनेटमा पुलिसका रवि पासवानले तेज तामाङको क्रसमा फ्लिक गरेका थिए । त्यो मौका पनि पुलिसले गोल गर्नबाट गुमायो । खेलको पहिलो हाफसम्म खेल बराबरीमा रह्यो ।

४९ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्ने सुनौलो मौका गुमाए ।

खेलको ८५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको फ्रि किक गोल पोस्टबाट बाहिरिएपछि पुलिसका लागि खाता खोल्ने अवसर समेत सकिएको थियो । पुलिसले पाएको बललाई सदुपयोग गर्न नसक्दा पुलिस घर फर्कन बाध्य भयो । पुलिसमाथी हावी भएको आर्मीले रक्षपङ्तिलाई मजबुद राखेको थियो ।

आर्मीका स्टाइकर नवयुग श्रेष्ठ अनफिट भएका कारण मैदान बाहिर रहे । सम्भवत उनलाई फाइनलमा उतार्ने रणनीतिका साथ बाहिर राखिएको हुन सक्छ ।

खेलको म्यान अफ द म्याच विजेता टिमका दिनेश हेनजन घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्टले प्रदान गर्ने नगद १० हजारसहितच पुरस्कृत गरिएको थियो । अन्तिम सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ मस्याङ्दीबिच हुने आयोजक समितिका सदस्य रोशन काफ्लेले बताए ।