मनाङ मेची नेत्रालय गोल्डकपको फाइनलमा , उपाधिका लागि आर्मीसंग भिड्ने

खेलकुद

काकरभिट्टा । आयोजक काकरभिट्टालाई सडनडेथमा पराजित गर्दै मनाङ मस्याङ्दी क्लब मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा बुधवार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडनडेथमा ८–७ गोल अन्तरले हराउँदै फाइनलमा त्रिभूवन आर्मीसँगको भेट पक्का गरेको हो । निर्धारित ८० मिनेटको खेलमा गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा लगिएको थियो ।

टाइब्रेकरमा मनाङका अनिल गुरुङ, बिमल बस्नेत, कमल श्रेष्ठ, हेमन थापा मगरले गोल गरे भने विक्रम लामाको बल गोल्पोष्ट बाहिर गएको थियो । आयोजकका प्रकाश बुढाथोकी, निराजन खड्का, सरोज दाहाल र हेमन्त थापाले गोल गरेका थिए भने निशान लिम्बूको प्रहार गोलरक्षक दिनेश थापाले बचाए ।
टाइब्रेकरमा ४–४ को बराबरी भएपछि खेलको निर्णय सडनडेथका आधारमा लिइएको थियो । सडनडेथमा मनाङका विमल घर्ती मगर, विराज महर्जन, विशाल राई, अनन्त तामाङले गोल गरेका थिए । आयोजकका भूषण लिम्बू, विक्रम लामा, सुरज विकले गोल गरे भने फ्ल्लोरेन्सको प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच मनाङ मस्याङ्दीका हेमन गुरुङ घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्टका तर्फबाट नगद १० हजार प्रदान गरिएको थियो
गोल्डकपको विजेता टिमले नगद ८ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार मेची नेत्रालय काँकरुभिट्टा र दोस्रो पुरस्कार धाइजनका खेलप्रेमी नरेन्द्र मेचेले स्पोन्सर गरेका छन् । मेची बस व्यवसायी सह प्रायोजक रहेको छ भने विभिन्न सङ्घ संस्थाको सहयोग रहेको आयोजकले बताएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार दिनको २ बजे सुरु हुनेछ ।