शान्तिपूर्ण गतिविधि गर्ने राष्ट्रवादी मोर्चाको प्रतिबद्धता

बिर्तामोड – नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ ।

झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनता समक्ष पुर्याउने जनाएका छन् ।

‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेताहरु बिर्तामोडबाट पक्राउ परेका थिए ।

छलफलमा मोर्चाका नेताहरुले आफूहरु निर्वाचन विरोधी नभएको प्रष्ट्याएका छन् । मोर्चाका नेताहरुले निर्वाचन विथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । झापाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले जनभावनाको कदर गर्न र संविधानले दिएको अधिकार उपयोग गरी शान्तिपूर्ण ढंगबाट आफ्ना गतिविधि बढाउन उनीहरुलाई सुझाव दिएका थिए ।

संवाद समूह झापाले संयोजन गरेको छलफलमा मुलुकको आवश्यकता, मोर्चाका जायज माग सम्बोधनका लागि नेपाल सरकार, राजनीतिक दल तथा सरोकारवाला सबैको ध्यानकर्षण गराउने समेत सहमति भएको छ । त्यस्तै पछिल्लो समय विभिन्न पक्षबाट शान्ति खल्बल्याउन बम बिष्फोट गराउने लगायतका गतिविधि भइरहेको भन्दै मोर्चाका नेतासहित छलफलमा सहभागीले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

उनीहरुले शान्ति सुरक्षा मजदुत बनाइ नागरिकलाई निर्भयतापूर्वक बाँच्न पाउने र आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउन सरकार समक्ष माग समेत गरेका छन् । प्रतिबद्धता तथा सहमतिमा मोर्चाका केन्द्रीय संयोजक रामचन्द्र क्षेत्री बानियाँ, संगठन विभाग प्रमुख महेन्द्र शर्मा, केन्द्रीय सदस्य सुरेन्द्र कार्की र झापा जिल्ला अध्यक्ष कृष्ण चुडालले हस्ताक्षर गरेका छन् । मोर्चाका नेताहरुले ३७ जिल्लामा आफ्नो संगठन बिस्तार भएको जनाउँदै मोर्चा शान्तिको पक्षमा रहेको बताएका छन् ।

वरिष्ठ अधिवक्ता टंक उप्रेतीले संविधान भित्र रहेर शान्तिपूर्ण ढंगले आफ्ना गतिविधि बढाउन सुझाएका छन् । अग्रज अधिकारकर्मीहरु तथा नागरिक समाजका प्रतिनिधिहरु लालराज सुवेदी, रुपक खनाल, विष्णुप्रसाद खरेल, प्रेमप्रकाश सिटौलाले शान्तिपूर्ण बाटोबाट जनता समक्ष पुग्न सुझाव दिएका छन् । उनीहरुले मुलुक शान्ति र समृद्धिको मार्गमा अघि बढेकाले यसलाई वाधा पुग्नेगरी कसैले पनि कुनै गतिविधि गर्नु नहुने धारणा राखे ।

मोर्चाले उल्लेख गरेका पाँच सिद्धान्तहरु– शान्ति–अहिंसा, मानवतावाद, राष्ट्रवाद र स्वतन्त्रता–समानता–विश्ववन्धुत्व लगायतलाई व्यवहारमा उतार्न अधिकारकर्मी तथा नागरिक अगुवाले सुझाव दिएका छन् । मोर्चाका नेताहरुले आफूहरु नागरिकलाई दुःख नहोस् भन्ने पक्षमा रहेको बताउँदै आफूहरु माथि विभिन्न झुटो लाञ्छना लगाइएको समेत गुनासो गरे ।

मोर्चाको स्थापना गत असार १५ गते भएको सो अवसरमा बताइयो । त्यसअघि मोर्चाका केही नेताहरु ०६९ सालबाट देशभक्त नागरिक अभियान नेपाल मार्फत विभिन्न गतिविधि गर्दै आएका थिए । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।