उपचारपछि जमानतमा घर फर्किए रोदन  अझै ५५ हजार बुझाउन बाँकी

बुद्धशान्ति ।  करेन्ट लागि घाईते झापा बुद्धशान्ति गाँउपालिका ४ हापेन चौकका रोदन सुन्दास सफल उपचार पछि घर फर्किएका छन ।

उपचार भएपनि खर्च भुक्तानी गर्न नसक्दा उनी भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमै बस्न बाध्य भएका थिए । डिस्चार्ज भएपनि खर्च बुझाउन नसक्दा सुन्दासले कक्षा ५ को अर्ध बार्षिक परिक्षा दिन नपाएको समाचार तहल्का खबर डटकममा प्रकाशित भएपछि जमानतमा घर फर्किएका हुन् ।

घर फर्किन लाग्दा बालक सुन्दासले ओमसाई पाथिभरा एउटा अस्पताल मात्रै नभएर मन्दिर भएको भन्दै अस्पताल प्रसासनलाई र रकम जुटाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

बुद्धशान्ति गाँउपालिकाका बिद्यार्थी नेता खड्ग पंधाक र भुपेन्द्र थेबे अस्पतालमा जमानत बसेपछि रोदन घर फर्किएका हुन । विद्यालय लगायत विभिन्न संघ संस्थाबाट संकलित ६७ हजार ९ सय ३५ रुपैयाँ बुझाएर जमानतमा सुन्दासलाई घर फर्काइएको हो । १ लाख २२ हजार बढी खर्च भएको अस्पतालमा अब ५५ हजार रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै पहलकर्ता पंधाकले सहयोग गर्न चाहनेहरुलाई बुधबारे स्थित प्राइम बैङ्कमा रहेको खाता नम्बर ०३९००७१९ पी एसमा सहयोग रकम जम्मा गरिदिन साथै मोबाइल नम्बर ९८१५०१२१५८ मा सम्पर्क राख्न आग्रह गरेका छन् ।

सुन्दासको उपचारका लागि हाल अमेरिका बस्दै आएका झापा दुहागढीका दिपक अधिकारी र परिक्षित मिडियाद्धारा सञ्चालित हाम्रो दमक डटकमले १०/१० हजार रुपैयाँ सहयोग गरेका छन ।

गत असोज २० गते स्थानिय एक घरमा रड तान्ने क्रममा करेन्ट लागि सुन्दास सक्त घाईते भएका थिए । करेन्ट लागेर घाईते भएका सुन्दासलाई तत्काल बि एण्ड सी अस्पतालमा एकसाता उपचार पछि भद्रपुरको ओम साई अस्पताल पुर्याइएको थियो । असोज २८ गते ओम साईमा भर्ना भएका सुन्दासको सफल उपचार पछि अस्पतालले मंसिर ३ गते नै विदा दिएको थियो ।

दैनिक ज्यालादारी गरी गुजारा चलाउँदै आएका बालकका बुवा घनेन्द्र सुन्दासले र्आिर्थक अवस्था नाजुक भएकोले छोरालाई घर लान समस्या भएको दुखेसो गर्दैआएका थिए । उनले छोराको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अझै केहि रकम भुक्तान गर्न बाँकी रहेको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।