नेपाली काङग्रेसको यो अन्तिम सरकार हो–केपी ओली

राजनीति राष्ट्रिय समचार

गोपिन पोखरेल
विर्तामोड– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तर्फ लक्षित गर्देै नेपाली काङग्रेसको यो अन्तिम सरकार भएको बताएका छन् । झापाको विर्तामोडमा २ नं क्षेत्रीय कमिटीले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले शेरबहादुर देउवा काङग्रेसकै अन्तिम प्रधानमन्त्री भएको बताएका हुन् ।

‘नेपाली काङग्रेसको उहाँ अन्तिम प्रधानमन्त्री हो’ ओलीले ठोकुवा गर्दै भने यसपछि नेपाली काङग्रेसको सरकार बन्दैन, नेपाली काङग्रेसको नेतृत्वमा सरकार बन्दैन ।’ मैले अस्ति यसो भन्दा उहाँहरुलाई नराम्रो लाग्यो अरे केही समय अघि बोलेको कुरा स्मरण गर्दै ठट्यौली पारामा उनले भने – ‘भा को कुरा गर्दा नराम्रो लाग्यो अरे ।’

सम्बोधनका क्रममा अधिकांश समय काङ्ग्रेस प्रति खनिएका ओलीले अब बामपन्थिको सरकार बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरे । उनले भने ‘अब देशभक्तिको पक्षमा ,राष्ट्रहितको पक्षमा देश अघि बढ्यो,बढ्यो यसलाई कसैले रोक्न सक्दैन ।’ नेपाली काङग्रेस अहिले पनि साम्प्रदायिकता भड्काउन लागि रहेको आरोप लगाउदै ओलीले मधेश र तराई टुक्राउन त्यसका लागि संविधान संसोधन गर्न काङग्रेस लागि रहेको हँुदा एमालेले त्यो कदापी पुरा हुन नदिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री देउवा प्रति निकै आक्रामक देखिएका नेता ओलीले मधेशी दलतर्फ इङगित गर्दै ‘बहुराष्ट्र भनेर एउटाले घोषणा गर्छ त्यसैको झण्डा बोकेर तेसैसंग तालमेल गर्ने, एकता गर्ने काङ्ग्रेसको नीति के हो ? नेपाल एउटा राष्ट्र हो की बहुराष्ट हो’ आलीले भने ‘म नेपाली काङ्ग्रेसका सभापतिलाई भन्न चाहन्छु बुझिने गरि भन्नुस त, नेपाल एउटा राष्ट्र हो की बहुराष्ट्र जिब्रो नचपाइकन भन्नुस त ।’
राप्रपासंग बामगठबन्धनले तालमेल गरेको प्रसङग उल्लेख गर्देै एमाले अध्यक्ष ओलीले भने राप्रपालाई काङ्ग्रेसले नै धोका दिएकाले झापामा राप्रपालाई साथ लिएको हो । ‘हामीले त धोका दिएका व्यक्तिहरु लिएका हौ पशुपति शम्शेर कमल थापाहरु सिङगै पार्टी त उहाँहरुसँगै छन् ’–भन्दै झापामा राप्रपासँग तालमेल भएको स्विकारे ।
नेपाली काङ्ग्रेसलाई देश बनाउने कुरा सोच्ने फुर्सदै नभएको आरोप लगाउदै नेता ओलीले भने ‘नेपाली काङ्ग्रेसलाई देश विकासका बारेमा चिन्तै छैन, उहाँहरुलाई केवल सरकार जाने भो आफन्तहरुको क्या बिजोक होला भन्ने चिन्ता मात्रै छ ।’ ओलीले देशलाई स्थिरतातर्फ लान चिन्ता गर्न काङ्ग्रेसलाई आग्रह समेत गरे ।
काङ्ग्रेसले ०४८ र ०५६ मा बहुमत ल्याएर पनि प्रजातन्त्र दरबारमा बुझाएकाले पटक पटक संघर्ष गर्नु परेको स्मरण गर्दै ओलीले अब कम्युनिष्ट आन्दोलन देशको प्रमुख शक्ति भएर आएकाले दुनियाँको कुनै पनि शक्तिसंग ननिहुरिने उद्घोष गरे । ‘हामी कसैसँग निहुरिदैनौ ,लतारिदैनौ’ ओलीको दम्ब थियो ‘राष्टिय स्वाभिमान माथि उठाएर हिड्छौं सबैलाई थाहा छ ।’ कम्युनिष्ट एकताकै कारण विश्वासिलो वातावरण तयार भएको छ उनले भने ‘बामपपन्थी नेतृत्वमा अब देश अगाडि बढ्यो त्यसको अगुवाई एमालेले गर्छ ।’

बामपन्थि एकताबाट काङ्ग्रेस अतालिएको प्रसङग कोट्याउदैे उनले भने ‘लोकतन्त्रको कुरा उठाइन्छ यहाँ, तानासाहीकरणमा जान्छ , अधिनायकबादमा जान्छ भनेर, के देश विकासको एजेण्डा काङग्रेससँग छ’ भन्दै प्रश्न गरे । राष्ट्रियता भन्दा काङ्ग्रेस झस्किने गरेको बताउदै ओलीले त्यसको पक्षमा उभिँदा खोक्रो भन्ने, लोकतन्त्र भन्दा आतिने र समाजबाद भन्दा सातो जाने रोग काङग्रेसलाई लागेको आरोप लगाए।
समाजबाद विपीले भन्ने गरेको स्मरण गर्दै ओलीले काङग्रेस समाजबादको आदर्श मा हिड्छ भन्थे तर आज एमाले र माओबादीले समाजबाद ल्याउन खोजे भनेर प्रधानमन्त्री सरकारी हेलिकप्टर लिएर कुद्ने गरेको आरोप लगाए ।

‘काङ्ग्रेसले आफुलाई छिमेकीसँगको सम्बन्ध बिगार्यो भन्ने आरोप लगाउछ’, आफु प्रधानमन्त्री हँदा ३ हप्तादेखि नाकाबन्दि भएको विगत सम्झदै ओलीले भने नाकाबन्दी नखुलाई तपाइको देशमा आउन मिल्दैन आउदिन भन्ने जवाफ भारतलाई दिएर नाकाबन्दी खुलेपछि स्वाभिमानका साथ भारत गई सम्बन्ध सुधारेको जिकिर गरे । ‘त्यसैले अहिले देशले एकताको बाटो लिएको छ’ उनले भने यस क्षेत्रका जनताले एकताको पक्षमा मत दिन जरुरी छ । सम्बोधनमा अधिकांश समय काङग्रेसको आलोचनामा खर्चेका ओलीले झापाका ५ वटै निर्वाचन क्षेत्रका गठबन्धनका उम्मेद्ववारलाई मत माग्न भने भ्याएका थिए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट क्षेत्र नं २ कि उम्मेद्ववार पवित्रा निरौला खरेल, प्रदेश सभा उम्मेद्ववार एकराज कार्की, प्रदेश २ कै उम्मेद्ववार बिर्ख प्रधान लगायतले मन्तव्य मार्फत मत मागेका थिए ।
कार्यक्रम राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राजकुमार पोखरेलको अध्यक्षतामा भएको थियो ।