झापामा प्रतिनिधि र प्रदेशसभा  समानुपातिक तर्फ एमाले नै ठूलो दल

विर्तामोड  /  देशभर बामगठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभामा विजय प्राप्त गरेर सनसनी मच्चाएका बेला झापाको समानुपातिक तर्फको मत गणना अनुसार नेकपा एमाले ठूलो दल बनेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन समानुपातिक तर्फ नेकपा एमाले पहिलो दल बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सहितको बामगठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा गरी झापाका सबै स्थानमा जित हासिल गरेको एमालेलाई मतदाताले समानुपातिक तर्फ १ लाख ६० हजार ६ सय ३९ मत दिएर पहिलै दल बनाएका छन् । त्यस्तै प्रदेशसभाको समानुपातिक तर्फ पनि एमालेले १ लाख ५० हजार ९ सय ९९ मत पाएको छ ।

झापामा प्रत्यक्ष तर्फ एकसिट पनि जित्न नसकेको नेपाली काँग्रेस प्रतिनिधि सभा समानुपातिकमा भने दोश्रो दल बन्न सफल भएको छ । नेपाली काँग्रेसले १ लाख २१ हजार ४ सय ८९ मत प्राप्त गरेको छ । प्रदेश सभामा समानुपातिक तर्फ काँग्रेसले १ लाख १२ हजार ७ सय ९९ मत पाएको छ ।

त्यस्तै झापामा दोस्रो ठूलो दल बनेको नेकपा माओबादी केन्द्रले प्रतिनिधि सभा समानु्पातिक तर्फ ३३ हजार ३ सय ९९ मत  पाएको छ भने प्रदेशसभा समानुपातिक तर्फ ३३ हजार २ सय ५९ मत  प्राप्त गर्न सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एता एमाले माओबादीसँगको गठबन्धनमा सामेल राष्टिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिक तर्फ ३२ हजार ८ सय २० मत प्राप्त गरको छ । प्रदेश सभा समानुपातिक तर्फ भने राप्रपाले ३४ हजार ९ सय ६६ मत पाएको छ । राप्रपाका उमेरद्वार राजेन्द्र लिङदेन झापा क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई भारी मतले पराजित गर्दै विजेता भएका थिए ।

उता विवेकशील साझा पार्टीले झापाबाट प्रतिनिधि सभा समानुपातिक तर्फ ९ हजार १ सय ३२ मत प्राप्त गर्दा प्रदेश सभामा ७ हजार ९ सय ४५ मत पाएको छ ।