हल्दिबारी गाउँपालिका वडा नं. १ पनि पुष ५ गतेबाट खुल्ला दिसामुक्त

शिक्षा स्थानीय स्वास्थ्य

गोलधाप /  हल्दिबारी गाउँपालिका वडा नं. १ खुल्ला दिसामुक्त वडा घोषणा हुने भएको छ । साविक गोलधाप गाविस हालको हल्दिबारी गाँउपालिका वडा नं १ ले त्यस सम्बन्धि मापदण्ड पूरा गरेकोले यही पुष ५ गते खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

शनिबार गोलधापमा बसेको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले वडा नं १ ले सम्पूर्ण मापदण्ड पुरा गरेको जनाएको हो । हल्दिबारी वडा नं–१ ले खुल्ला दिसामुक्त घोषणाका मापदण्ड पूरा गरेकोले स्थलगत अनुगमन गरी घोषणाका लागि स्वीकृति प्रदान गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अनुरोध गरेको थियो ।

जिल्लाको अनुगमन टोलीले दुई चरणमा अनुगमन गरी सुझाव सहित खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिन सकिने निस्कर्ष निकालेको थियो । शनिबारको बैठकले घोषणाको पूर्वसन्ध्यामा पूर्ण सरसफाइ प्रवद्र्धनका लागि प्रत्येक घरधुरीमा पत्राचार गर्ने, घोषणा समारोहलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

स्थानीय सामग्री प्रयोग गरी सबैभन्दा राम्रो चर्पी बनाउने घरधुरीलाई खुल्ला दिसामुक्त घोषणा समारोहमा सम्मान गर्ने निर्णय भएको सोही वडाका वडाध्यक्ष एवम् वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।