समानुपातिकको मतगणना सकिँदा एमाले पहिलो दल, कुन कुन दलले थ्रेसहोल्ड कटाउन सकेनन्

काठमाण्डौं / प्रत्यक्ष तर्फ ८० सिट जितेको नेकपा एमाले समानुपातिकमा ४१ सिट पाँउदै सबैभन्दा ठूलो दल बनेको छ ।

प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली कांग्रेस समानुपातिकमा ४० सिट पाँउने भएपछि दोस्रो दल बनेको छ । एता प्रत्यक्ष तर्फ ३६ सिट जितेर दोस्रो बनेको माओबादी केन्द्र समानुपातिकमा कांग्रेस भन्दा पछि परेपछि तेस्रो दल बनेको छ ।

प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सकिएर नतिजा आईसके पनि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै रहेको जनाएको छ । मत परिणाम अनुसार १ सय ६५ सदस्यीय प्रतिनिधि सभामा जम्मा ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल चौथो र संघीय समाजवादी फोरम पाँचौं दल बनेका छन् । रापाले प्रत्यक्षमा ११ सिट र फोरम नेपालले १० सिट पाँउदै गर्दा समानुपातिकमा दुबैले ६/ ६ सिट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (कमल थापा नेतृत्वको) नयाँ शक्ती नेपाल , राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जिते पनि थ्रेस होल्डका कारण समानुपातिकमा परेनन् । विवेकशिल साझा पार्टी थ्रेस होल्ड कटाउन नसक्दा छैटौमा परे पनि राष्ट्रिय दल बन्न सकेन । त्यस्तै , पशुपति शम्शेरको राप्रपा प्रजातान्त्रिक पनि राष्ट्रिय दल बन्न सकेन ।

कुल सदर मतको ३ प्रतिशत अर्थात २ लाख ८६ हजार ३४२ मत नपाएका दलले समानुपातिकमा एक सिट पनि नपाउने भएका हुन् ।
कुल खसेको मत मध्ये ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४ सय ९४ मत सहित एमाले ठूलो पार्टी बनेको छ । एमालेले कांग्रेसको भन्दा ४५ हजार १०५ मत बढी पाएको छ ।

दोस्रो दल बन्न सफल कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।राजपाले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ मत पाएका छन् ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६३ पाँउदा राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७, नयाँ शक्तिले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३३ मत पाएका छन् ।