नगद तथा सुन चोरी गर्ने एक व्यक्ति पक्राउ

समाज स्थानीय

बिर्तामोड / एक बृद्धको जबरजस्ती सुन तथा नगद चोरी गरेको अभियोगमा विर्तामोड प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक नागी गाविस वडा नम्बर–३ घर भइ हाल झापाको कन्काई नगरपालिका–१ मा डेरा गरी बस्ने ३७ वर्षीय उमेश भन्ने टेकबहादुर हिङ्माङ दर्जी छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ७८ वर्षीय पूर्णबहादुर आङ्देम्बेको अर्जुनधारा ) ११ स्थित नयाँ बसपार्कमा मंसीर २७ गते १ तोला ५ आना सुन तथा नगद १२ हजार रुपैयाँ चोरी गरेको अभियोगमा हिङ्माङ पक्राउ परेका हुन् ।

नातिनीसँग पाँचथरबाट बिर्तामोड आएका आङ्देम्बेलाई हिङ्माङले बसपार्कबाट रिक्सामा चढाएर चिया खान केही पर जाउ भनी २ वटा सुनका औँठी र १२ हजार रुपैयाँ नगद चोरी गरेका थिए । सँगै रहेकी नातिनीलाई बस्तै गर भन्दै पर लगेर कुटपिट गरी घाँटी थिचेर सुन, नगद, टेलिफोन डायरी, नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र लुटेर लगेको भनी बृद्धले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

लुटपाटपछि फरार हिङ्माङ मंसिर २९ गते नै हुलियाको आधारमा बसपार्कबाटै पक्राउ परे पनि थप अनुसन्धान गरी आइतबार मात्र प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लुटेको सुन हिङमाङले दमकको एक सुनचाँदी पसलमा बेचेका थिए । उक्त सुन पगालेर सिक्री बनिसकेको अवस्थामा प्रहरीले सिक्री र हिङ्माङले आफन्तको घरमा राख्न दिएको नगद २० हजार रुपैयाँ पनि बरामद गरको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट जबरजस्ती चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । हिङ्माङ गत भदौ ८ गते जबरजस्ती करणी मुद्दा अन्तर्गत पक्राउ गरी पूर्पक्षका लागि पाँचथर जिल्ला कारागारमा पठाएको र कैद भुक्तान गर्ने क्रममा कारागारबाटै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिङमाङ केही महिनाअघि मात्रै कारागारबाट छुटेका हुन् ।

उनी जबरजस्ती करणी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका थिए । एकपटक कारागारबाट फरार भएका उनी पुनः पक्राउ परी १३ वर्ष ६ महिना कैद भुक्तान गरी ०७३ माघमा इलाम कारागारबाट छुटेका थिए ।