मौनतामा अल्झिएको एउटा जीवन

गित संगीत मनोरञ्जन

बेली पाइन्ट, डिंगो बुट, बुट्टेदार सर्ट, सलक्क बाल, अग्लो कद । राष्ट्रिय सभा गृहको प्रेक्षालयमा मैले ओम विक्रम विष्टलाई पहिलो पटक यस्तै देखेको थिएँ । उहाँ माइक्रोफोन समातेर मञ्चमा ठिंग उभिदा म फुच्चे दर्शकको भिडमा कोचिएर निर्निमेष दृष्टि विच्छ्याइरहेको थिएँ ।

त्यो यस्तो समय थियो, जतिबेला गायक/गायिकाहरु मञ्चमा पलेंटी कसेर बस्थे र हारमोनियममा औंला नचाउँदै गीत गाउँथे । श्रोताहरु कुर्सीमा झुलेर गीतको आनन्द लिन्थे । हामी जस्तो फुच्चेहरुलाई भने त्यस्ता प्रस्तुती संभवत लोरी सुनेजस्तै लाग्दो हो । गीत सुन्दासुन्दै सायद हामी निदाउँथ्यौं ।

तर, ओम दाइको गीतले निदाउन नदिने । कुर्सीमा बसिरहन पनि दिँदैनथ्यो । उहाँको धुनले दर्शक/श्रोताको रक्त-प्रणालीमा तरंग ल्याउथ्यो । कम्पन पैदा गर्थ्यो । ओम दाइ गुञ्जिरहँदा दर्शकको धड्कन थप तिव्र हुन्थ्यो । उहाँको गेटअप, भावभंगीमा जुन ग्ल्यामर हुन्थ्यो, त्यसले हामी जस्ता सपनामा बाच्ने पुस्ताको मुखमा र्‍याल आउँथ्यो ।

ओम दाइको आवाजको कम्पनले मेरो हृदयको झंकार बजाइदियो । पप संगीतको फेरो समातेर अघि बढ्न सक्छु भन्ने कुराले मेरो प्राण भरियो । ओम विक्रम विष्टको कन्सर्ट हेरेर फर्किरहँदा म मनमनै पपस्टार भएको कल्पनामा डुबेर मख्ख परिरहेको थिएँ ।

आखिरमा पप संगीतकै धार समातेर मैले आफूलाई उकासें । मेरो गीत चल्यो, म चलें । नेम र फेम पाएँ । कन्सर्ट, अन्तर्वार्ता, रेकर्डिङले मलाई भ्याइ/नभ्याई बनायो । यस्तो पनि मौका आयो कि, जसलाई म आइडल मान्थें, उहाँसँग एउटै मञ्चमा उभिने ।

धरानमा कन्सर्ट थियो । ओम विक्रम दाइसँग म पनि त्यसमा निम्त्याइएँ । उहाँ जस्तो दिग्गज गायकसँग एउटै मञ्चमा उक्लिन पाउँदा म कम्ता मख्ख थिइनँ ।

पछि मैले ओम दाइको वायोग्राफीलाई भिडियोमा उतार्ने जमर्को गरें । त्यस क्रममा लगातार दुई वर्ष उहाँलाई पच्छ्याइरहें । लाग्यो, उहाँ संगीतकै लागि जन्मिनुभएको हो । पप संगीतका लागि ।

ओम विक्रम नभइदिएको भए ?

चार्ली च्याप्लिन भन्थे रे, ‘प्रतिभाहरु बन्दैनन्, जन्मन्छन् । एक युगमा, एक पटक ।’ मलाई लाग्यो, ओम दाइ बलबुतोले गायक बन्नु भएको होइन, जन्मिनुभएको हो । पप संगीतका लागि ।

धरानको कन्सर्टमा ओम दाइसँग मैले स्टेज शेयर गर्ने क्रममा थाहा पाएँ, उहाँ स्टेजमा निस्कनुअघि अलि नर्भस जस्तो देखिने । तर, जब स्टेजमा उक्लिसकेपछि उहाँ एकदम बेग्लै भावभंगीका साथ प्रस्तुत हुने । रंगीचंगी बत्ती, वाद्ययन्त्रको पृष्ठभूमीमा ओम विक्रम विष्टको ग्ल्यामर छचल्किन्थ्यो ।

ओम दाइको आवाज अन्तस्करणबाट प्रस्फुटन हुने । त्यो हृदयको झंकार जस्तै । आत्माको ध्वनी Û

गिटार च्यापेर ‘म मौनतामा अल्भिmएको’ गाउँदा मेरा शरीरका रौंहरु ठाडा हुन्थे । यो गीतको अन्तरामा ‘कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने’ भन्ने पंक्तिमा ‘कसलाई खोज्ने’ वाक्य हाई पीचमा गाइएको छ । सामान्यत अरुले यसरी स्वर तानेर हाई स्केलमा गाउँदा त्यो झर्कोलाग्दो हुन्छ । तर, ओम दाइको आवाजमा बेग्लै मिठास पाइन्छ ।

ओम दाइ नेपाली पप संगीतका प्रवर्तक हुनुहुन्छ । संभवत ०२९ सालतिर उहाँ माइकल ज्याक्सनको नेपाली संस्करण बनेर हामीकहाँ पर्दापण हुनुभयो । त्यसबेला उहाँ जुन रुपमा पेश हुनुभयो, त्यो नेपाली पप संगीतको निम्ति कोसेढुंगा सावित भयो । नेपाली पप संगीतको एउटा कालखण्ड उहाँ एक्लैले आफ्नो काँधमा थाम्नुभयो । त्यसपछि हामी जस्तो पप संगीतमा रमाउने झुन्डले त्यो विरासत प्राप्त गर्‍यौं ।

यदि ओम विक्रम विष्ट नभइदिएको भए ?

यो प्रश्नले मेरो मथिंगल हल्लाइदिन्छ । ओम विक्रम विष्ट नभइदिएको भए नेपाली पप संगीत कहाँबाट, कहिले, कसले र कसरी सुरु गर्थे होलान् ?

सबैलाई थाहै हुनुपर्छ । ओम दाइ कुलिन परिवारका सदस्य हुनुहुन्छ । उहाँको बुवा दौलतविक्रम विष्ट विख्यात साहित्यकार । काठमाडौंमा पुर्ख्यौली विर्ता सम्हालेर बसेको परिवार । त्यस्तो पारिवारिक पृष्ठभूमिमा जन्मनु ओम दाइका लागि मात्र होइन, समग्र नेपाली पप संगीतको लागि ‘गुड लक’ थियो ।

पप संगीतलाई संगीत नै नमान्ने परिवेशमा ओम दाइले धनकै बलमा आफ्नो प्रताप विस्तार गर्नुभयो । रेडियो नेपालले उहाँको गीतलाई गीतको रुपमा नलिने । यद्यपी ओम दाइ मुम्वईमा पुगेर रेकर्ड गराउन सक्ने हैसियतको हुनुहुन्थ्यो । उहाँलाई गीत बिक्नु वा पैसा आर्जन गर्नुसँग मतलव थिएन । बस्, गीत गाउन पाए पुग्यो । र, उहाँको यो सदिक्षा पूरा गरेको थियो पुर्ख्यौली सम्पन्नताले ।

त्यो समयसँग म झगडा गर्न चाहन्छु

जुन बेला ओम दाइ पप संगीतको आलोकमा टेकेर संगीतको नयाँ खाका कोर्दै हुनुहुन्थ्यो, त्यसबेला उहाँको गीतमा अभ्यस्त दर्शकको जमात तयार भइसकेको थिएन । पुराना पुस्ताले त उहाँलाई गायक नै मानेनन् । उहाँको बुवाले समेत । भन्नुहुन्थ्यो रे, ‘तैले विदेशी गीत गाएर समाज भाँड्ने काम गरिस् ।’

यो कुराले ओम दाइको मन दुखेको थियो । त्यसबेला उहाँ चौतर्फी दबाव र आक्रमण झेलिरहनुभएको थियो । परिवारको, समाजको, पुराना संगीतकर्मीको र मिडियाको । रेडियो नेपालले उहाँलाई सिंहदरबारको ढोकाबाट कहिल्यै प्रवेश गर्न दिएन ।

त्यस्तो जमानामा संगीतको नयाँ शैली र धुनलाई स्थापित गर्न ओम दाईले जुन लडाइँ लड्नुभयो, त्यो सम्झँदा मेरो रगत उम्लन्छ । म त्यो समयसँग झगडा गर्न चाहन्छु । त्यो समयले न ओम दाइलाई बुझ्यो, न स्विकार गर्‍यो । यस हिसावले उहाँ साह्रै ‘ब्याड लक’ मान्छे ।

जब समयले कठिन परीक्षा लियो

ओम दाइको पत्नीलाई अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । भाउजू मृत्युसँग जुधिरहनुभएको थियो । ठीक त्यही बेला भक्तपुरमा ओम दाइको कन्सर्टको तयारी हुँदै थियो । अब उहाँले के गर्नुहुन्छ ? कन्सर्ट छोड्नुहुन्छ वा भाउजू ?

भनिन्छ, हरेक मान्छेको जीवनमा यस्तो घडी आउँछ रे । समयले हरेकको परीक्षा लिन्छ । त्यही मोडमा ओम दाइ उभिनुभएको थियो । हामीमा एक किसिमको कौतुहलता थियो । दाइले के गर्नु होला ?

आखिरमा उहाँ कन्सर्टमा आउनु भयो । यसो भन्दै, ‘पोस्टर, पम्प्लेटमा मेरो नाम आइसकेको छ । म दर्शकलाई धोका दिन सक्दिनँ ।’

उहाँले त्यसपछि दोस्रो लाइनमा जे बोल्नुभयो, त्यसले मेरो हृदय छोयो । त्यसपछि नै हो मैले ओम दाइ एक जुगमा एकपटक गायक हो भनेर अन्तरहृदयबाट आत्मसात गरेको । ओम दाइले भन्नुभयो, ‘मैले राम्ररी गाउँदा सरस्वती माता खुसी हुनुहोला । हुनसक्छ, यसले मेरी पत्नीको स्वास्थ्यमा सुधार आउँला !’

संगीतप्रति उहाँमा कति ठूलो भरोसा, विश्वास, प्रेम र समर्पण थियो भन्ने कुराको प्रमाण हो यो । ओम दाइ वास्तवमै संगीत साधक हुनुहुन्थ्यो । तर, उहाँले त्यसको फल कहिल्यै चाख्नुभएन । उहाँ समयभन्दा अघि जन्मनुभयो । गल्ती यहिँनिर भयो ।

हारेको मान्छे

सानो कुराले खुसी हुने, सानो कुराले दुःखी हुने मान्छे, ओम दाई । वृत्तचित्र निर्माणका क्रममा मलाई संगीत गुरु प्रकाश गुरुङले भन्नुभएको थियो, ‘ओमको नाकको टुप्पोमा झिंगा बस्नै नहुने ।’ सानो कुरामा झर्कीफर्की गर्ने, सानो कुरामा चित्त दुखाउने, सानो कुरामा गमक्क फुलेर बस्ने, तर फेरि सानै कुरामा खुसी हुने । सानो कुरामा फुरुंग हुने । सानो कुरामा उद्वेलित हुने ।

मान्छेमा मूलत दुई किसिमका प्रवृत्ति हुन्छन् ।

एकखाले, जो सानो कुरामा ठुस्किने, सानो कुरामा फुरुक्क पर्ने । संवेदनशील । भावुक । यस्तो मान्छे क्रियटिभ हुन्छन् । सिर्जनशील हुन्छन् । रचनात्मक हुन्छन् ।

अर्कोखाले, जो दह्रो र कडा शैलीका हुन्छन् । धूत्र्याईं गर्न सक्ने । समय अनुसारको कुरा बिक्री गर्न सक्ने । चल्तापूर्जा । यस्ता मान्छे, नेतागिरी गर्छन् वा व्यापार ।

ओम दाईमा दोस्रो गुण थिएन । उहाँ असाध्यै राम्रो गाउने । गायनमा अति समर्पणभावले लागेको । कठोर साधक । तर, उहाँ चल्नुभएन । भनौं, उहाँले पहिलो नेपाली पप गायक बनेर पनि त्यसको स्वाद लिन पाउनुभएन । उहाँको एल्बम मारामार बिक्री भएन । उहाँको गीत रातारात भाइरल भएन । उहाँको कन्सर्टमा फ्यानहरुको अचाक्ली भिड लागेन ।

किन ?

किनभने, उहाँमा दोस्रो गुण थिएन । अर्थात फन्डा गर्न सक्ने । आफ्नो मार्केटिङ गर्न सक्ने । पब्लिसिटी स्टन्ट अपनाउने ।

तपाई कहाँ गए?

किनभने, मैले दुबै गुण विकास गरें । म गाउन पनि जान्दछु र आफ्नो मार्केटिङ पनि गर्न जान्दछु । पब्लिसिटी फन्डा मलाई आउँछ, स्टेजमा दर्शक उफार्न पनि आउँछ । आफूले गाएपछि दलालले जस्तै च्यापेर पारिश्रमिक उठाउन पनि आउँछ । त्यही कारण मैले ‘लुकी लुकी…’ गीतलाई हजारौं पटक बिक्री गरिसकें । सुन्दा अहंकारपूर्ण लाग्छ । तर, यथार्थ यहि हो । यथार्थ पचाउन सहज हुँदैन ।

हामी खासगरी नेपाली संगीतकर्मीमा दुबै गुण हुन जरुरी छ । विदेशमा वा भनौं पश्चिमी मुलुकमा एउटामा पहिलो गुण हुन्छ । अर्कोमा दोस्रो गुण । दुबै एकअर्कामा जोडिन्छन् । एउटाले गाउँछ, नाच्छ, अभिनय गर्छ । दोस्रोले त्यसलाई ब्रान्डिङ गर्छ । मार्केटिङ गर्छ । बजारमा लगेर बिक्री गर्छ । त्यसबाट आर्जित पैसा बराबरी भागबण्डा लगाउँछ । दुबैले एकअर्कालाई लुट्दैनन् । आ-आफ्नो खुबी कम्बिनेशन गरेर त्यसको फल खान्छन् । मिलिजुली ।

हामीकहाँ भने, दोस्रो प्रवृत्तिका व्यक्तिले पहिलो प्रवृत्तिको व्यक्तिबाट फाइदा उठाउँछ । ओम दाइलाई पनि कतिले प्रयोग गरे, फाइदा उठाए, लुटे । तर, उहाँले चुपचाप सहनु भयो । सहनु उहाँको प्रवृत्ति थियो ।

मदिराः कमजोरी थिएन, प्रवृत्ति थियो

ओम दाइ पप संगीतको धार निखार्न चाहनुहुन्थ्यो । तर, उहाँलाई चारैतिर छेकबार थियो । उहाँलाई सुन्ने स्रोता थिएनन् । उहाँलाई सम्मान गर्ने प्रशंसक थिएनन् । उहाँलाई स्विकार गर्ने संगीतकर्मी थिएनन् ।

उहाँ भित्रभित्रै जल्नुभएको थियो । भित्रभित्रै गल्नुभएको थियो । भित्रभित्रै मक्किनुभएको थियो ।

मनोविश्लेषणवादी विद्वान सिग्मड फ्रायडले भनेका छन्, मानिसभित्र जब कुण्ठा जम्मा हुन्छ, त्यो तीनवटा माध्यमबाट बाहिर आउँछ ।

एक, सपनाको माध्यमबाट । अर्थात आफ्नो मनमा दबाइएको कुरा सपनामार्फत हामी पूरा गर्छौं ।

दुई, यौनको माध्यमबाट । हामीभित्र दबाईको आवेग, आकांक्षा यौनको माध्यामबाट पनि साम्य हुन्छ ।

र, तीन, मदिराको माध्यमबाट । जब मनमा अनेकौं उथलपुथल हुन्छ र त्यसले सही निकास पाउँदैन तब हामी मदिराको साथ खोज्छौं । अर्थात मात्तिएर उक्त उथलपुथल दबाउन खोज्छौं । भुल्न खोज्छौं ।

ओम दाइले मदिरा पिउनुमा यहि कुरा लागू हुन्छ जस्तो मलाई लाग्छ । उहाँ असाध्यै मदिरा पिउने । उहाँमात्र होइन, धेरै सिर्जनशील मान्छेहरुलाई मदिराले सकेको छ । त्यसो हुनुमा सिग्मड फ्रायडको यहि भनाइ लागू हुन्छ ।

इतिहास जित्नेहरुका लागि

नेपाली पप सम्राट भन्छन् तर कहिल्यै सम्मान गर्दैनन् । नानाथरीका म्युजिक अवार्ड हुन्छ, कुनै आफ्नो भागमा पर्दैन । ओम दाइभित्र यस्तै गुनासाका पोकाहरु थिए, भित्रभित्रै गुम्सिएर रहेका ।

‘नेपाली पप सम्राट’ उपाधी स्वयम् उहाँलाई भारी भएको थियो । न बिसाउनु, न बोक्नु ।

मलाई लाग्छ, निजी जीवन पनि उत्ति रसपूर्ण रहेन उहाँको । अक्सर सेलिब्रेटीले गर्ने गल्ती के हो भने, परिवारसँगको सन्तुलन र सामिप्यता गुमाउने । मैले पनि त्यो गल्ती गरें । ओम दाइले पनि ।

आफ्नो संगीतकर्ममा उहाँ सधै हार्नुभयो ।

इतिहास जित्नेहरुको लागि हो । प्रणय लिम्बुले एउटा वृत्तचित्र बनाउनुभएको थियो, कुबेर राईको कथामा । इलामको गाउँमा गुमनाम जीवन विताइरहेका उहाँ वास्तविक गायक हुनुहुन्छ । गड गिफ्टेड । यता म आफ्नो प्रयासमा उभिएको गायक । हामी दुईलाई वृत्तचित्रमा तुलना गरिएको छ । म शहरमा चमकदमकपूर्ण करियर अघि बढाइरहेको । उहाँ गाउँमा धिपधिपे प्रकाशमा छलिएर बस्नुभएको ।

यो वास्तविक लाग्छ, मलाई पनि । अहिलेको जमानामा आफूमा खुबी भएर मात्र पुग्दैन । त्यसलाई सर्भ गर्न पनि जान्नुपर्छ । कस्तो थालमा पस्कने, कसरी सजाउने, कसलाई दिने ?

यो भनेको, आफूलाई समय सापेक्ष प्रस्तुत गर्ने कला हो । यस्तो कला भएन भने यो बजारमा कहाँ हराइन्छ, कहाँ । ओम दाइ आज त्यही विन्दुबाट गुजि्ररहनुभएको छ ।

पप संगीतको एउटा धरोहर अहिले गुपचुप विदेशी अस्पतालको शय्यामा ढलिरहनुभएको छ । उहाँका मिर्गौला खराब छन् । उपचारका लागि आर्थिक अभाव छ । यो संवेदनाले अझै हामीलाई छुन सकेको छैन । एउटा गायकको प्राण रक्षाको लागि हामीले आफ्नो तर्फबाट केही गर्न सक्छौं ? हरेकले आफैलाई यो प्रश्न सोधौं । मनले के भन्छ ?

प्रस्तुति: – शिव मुखिया / अनलाइन खवरबाट