शान्तिनगर धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र

आर्थिक समाचार कृषि पर्यटन मनोरञ्जन सस्कृति स्थानीय

शान्तिनगर झापा  /  झापाको बुद्धशान्ति गाउँपालिकाको धारागोलामा ५ दिने धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष चक्र शेर्माले जानकारी दिए ।

महोत्सवका लागि तयारी तिब्र पारिएको शेर्माले बताए । पर्यटकीय हिसाबले यस ठाउँलाई चिनाउन तथा लोप हुदै गरेको बिभिन्न जात जातीको सास्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सचिव चेतन ढुङ्गेलले बताए ।

महोत्सव परिषरमा सरसफाई, कृषि स्टल, स्टेज निर्माणको काम तिब्र गतिमा भइरहेको छ । साबिक शान्तिनगर तरकारी उत्पादनको पकेट क्षेत्र पनि हो । किसानलाई अग्र्यानिक खेती तर्फ प्रोत्साहन गर्न महोत्सव सहयोगी बन्ने आयोजकको अपेक्षा छ । महोत्सव सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिका र अन्य संघ–संस्थाले सहयोग गरेका छन् ।

झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भू–भागको मनोरम दृष्यावलोकन गर्न सकिने यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरिक तथा बाह्य पर्यटनको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखि ३ वर्षदेखि यहाँ महोत्सवको आयोजना गरिदै आएको छ । पौष महिनाको शुरुवात संगै लाग्ने महोत्सवमा स्थानीय श्रोत र साधनको पहिचान सहित निर्माणधिन अवस्थामा रहेको भ्यूटावरलाई पूर्णता दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

आर्थिक बर्ष २०७१/०७२ मा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम मार्फत रु.१२ लाख र आर्थिक बर्ष २०७२/०७३ मा रु.१८ लाख साथै स्थानीयको जनसहभागिता मार्फत रु.१ लाख ७१ हजार ५ सय ५२ रुपयाँ ७३ पैसाको लागतमा ५ तले भ्यू–टावरको ७० प्रतिशत संरचना बनिरहेको छ । बाँकी काम सम्पन्न गर्न आर्थिक बर्ष २०७३/०७४ मा संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु १० लाख छुटेपछि भ्यू–टावर सम्पन्न हुने क्रममा छ । निर्माणधिन संरचना सम्पन्न गर्न स्रोतको खोजी भईरहेको भ्यू–टावर निर्माण समितिका अध्यक्ष नीरकुमार सुबेदीले बताए ।

उक्त भ्युटावर निर्माण सम्पन्न गर्न करिब एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सो रकम जुटाउन सम्बन्धित सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न महोत्सव लाभदायी हुने भ्यू–टावर निर्माण समितिका सचिब सुमन लेप्चाले बताए ।

महोत्सवमा बिभिन्न कृषि स्टलका साथै राष्ट्रिय स्तरका कलाकार ताराप्रकास लिम्बु, जुना प्रसाई, विल्सन बिक्रम राई (तक्मेबुढा), निङमा शर्मा लगायतको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।