हल्दिबारी वडा नं १ साविक गोलधाप खुल्ला दिसामुक्त वडा घोषित

प्रदेश शिक्षा समाचार समाज स्थानीय स्वास्थ्य

गोपिन पोखरेल

गोलधाप झापा / हल्दिबारी वडा नं १ साविक गोलधाप गाविस आज खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । गोलधाप स्थित जनजागृती उच्च माध्यमिक विद्यालयको प्राङगढमा बुधबार एक कार्यक्रमका बिच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो ।

खुल्ला दिसामुक्त वडा घोषणा सभाको उद्घाटन गर्दै जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति उपप्रमुख मिना पराजुलीले सन् २०१७ मा नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारको अभियान पुरा गर्ने कार्यक्रम अन्तर्गत गोलधापलाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको बताइन् । सबै नगरपालिका र गाँउपालिकालाई एकैचोटी खुल्ला दिसामुक्त घोषणा गर्न पाएको भए उत्तम हुने बताउदै यो अभियानले क्रमशः पूर्णता पाउने आसा व्यक्त गरिन् ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका प्रमुख रबिन्द्र लिङदेनले पुस ६ गते नै हल्दीबारी गाँउपालिका खुल्ला दिसामुक्त गरिने घोषणा गरेको भए पनि चुनाव लगायत विभिद कारणले पुरा गर्न नसकेको स्विकार गरे । प्रमुख लिङदेनले साविक जलथल गाविस यसअघि नै खुल्ला दिसामुक्त भइसकेको र गोलधाप पनि भइसकेकाले अब हल्दिबारी मात्र हुन बाँकी रहेको र हल्दीबारीले पनि त्यो काम चाडै पुरा गर्ने जानकारी दिए ।

घोषणा सभामा डिभिजन खानेपानी कार्यालयका प्रमुख रुद्रबहादुर नेउपानेले झापामा बुद्धशान्ति पछि साविकको गोलधाप गाविस खुल्ला दिसामुक्त भएको बताउँदै पुरै गाँउपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा जोडतोडले लाग्न सबै सँग आग्रह गरे । नेउपानेले खुल्ला दिसामुक्त अभियान सफल बनाएको भन्दै वडा अध्यक्ष त्रिलोचन सापकोटालाई प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरि सम्मान गरे । साथै अभियानमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण वडाका पदाधिकारी कर्मचारी स्वयंसेवीका, विद्यालय तथा स्थानीय २ दर्जन व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

वडाध्यक्ष सापकोटाको अध्यक्षतामा आयोजित घोषणा सभामामा खुसियाली मनाउन विभिन्न नारा लेखिएका प्लेकार्ड सहित छात्रछात्रा, बाजागाजा सहित विभिन्न जातीय पहिचान झल्कने झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई रोचक बनाउन कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष सापकोटाले अभियानका क्रममा देखिएका चुनौती र सिकाई बारे प्रतिबेदन प्रस्तुत गरेका थिए । वडाकार्यालय सचिव नारायण खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक राम दाहालले गरेका थिए ।

यो वडामा अभियान सञ्चालन हुनु पहिले १ हजार ५सय ६० घरधुरीमा शौचालय थियो भने विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरेपछि १ सय ९४ घरधुरीले शौचालय निर्माण गरेका थिए । सो वडामा १ हजार ७ सय ५४ घरधुरी छन् ।