मोबाइल फोन प्रयोग नगर्दा शरीरबाट टाढा राख्नु राम्रो

अमेरिका/ लगातार लामो समय मोबाइल फोन उपयोग गर्दा टावर वा वाईफाईवाट मार्फत आउने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (एक प्रकारको विकिरण) ले मानिसको स्वास्थ्यलाई हानी गर्छ गर्दैन ? विज्ञानले यसबारेमा प्रमाणसहित ठोस उत्तर दिएको छैन ।
केही प्रयोगशालाका नतिजाले भने मोबाइल उपयोग गर्दा आउने विकिरणले मानव स्थाथ्यलाई हानी गर्ने देखाएका छन् । कसैलाई यो विकिरणवाट पर बस्ने मन लाग्छ भने उनीहरूका लागि क्लालिफोर्नियाको डिपार्टमेण्ट अफ पब्लिक हेल्थले केही निर्देशिका जारी गरेको छ ।
उक्त विभागले गत साता सार्वजनिक गरेको निर्देशिकामा मोबाइल फोन लामो समय प्रयोग गर्दा आउने विकिरणले क्यान्सर लगायत स्वास्थ्यमा असर पर्ने उल्लेख छ । विशेष गरी ब्रेन क्यान्सर, टयूमर, प्रजनन क्षमतामा हस, टाउको दुख्ने, सुन्ने क्षमतामा कमी लगायतका स्वास्थ्य समस्या आउने जनांउदै विभागले मोबाइल प्रयोगकर्तालाई केही सावधानी लिन भनेको हो ।
तर, बैज्ञानिकहरुमा मोबाइलबाट आउने रेडिएसनले हानी नै गर्छ भन्नेमा एकमत भने छैन । वैज्ञानिकहरुका अनुसार इलेक्ट्रोम्याग्नेटिक विकिरणले मानव स्वास्थ्यमा हानी नै गर्छ भनेर भनिहाल्न सक्ने अवस्था छैन । तर, यो अन्यौलका वेला उक्त विभागले जसलाई यसबाट टाढा बस्न मन छ उसका लागि नयाँ निर्देशिका जारी गरेको हो ।
विभागको निर्देशिकामा फोनलाई प्रयोगमा नआएको अवस्थामा शरीरमा राख्नु भन्दा उदाहरणका लागि झोलामा राख्न उपयुक्त हुने  सुझाव दिइएको छ । राती सुत्दा फोन सकेसम्म केही टाढा राख्नु उपयुक्त हुने सुझाव दिइएको छ । एयरफोन प्रयोग गरेपछि कानबाट हटाउन उपयुक्त हुने विभागले जनाएको छ । तीव्र गतिमा कार चलाउंदा, बस वा रेलमा यात्रा गर्दा कमजोर सिंग्नलका कारण बढी रेडिएसन आउने हुदां यस्तो अवस्थामा मोबाइलको प्रयोग सकेसम्म कम गर्दा राम्रो हुने निर्देशिकामा उल्लेख छ ।
अमेरिका लगायत विश्वमा मोबाइल फोनका प्रयोगकर्ता बढिरहेको अवस्थामा उक्त विभागले यस्तो सुझाव दिइएको हो । करिब ९५ प्रतिशत अमेरिकीसंग अहिले मोबाइल फोन रहेको अनुमान छ । विशेषगरी बालक र किशोर अवस्थामै मोबाइल प्रयोग गर्ने प्रचलन बढ्दो छ ।
सन् २०११ विश्व स्वास्थ्य संगठनलेपनि मोबाइलबाट आउने विकरणले ल्याउने सक्ने स्वास्थ्य समस्याका बारेमा सजग गराएको थियो । यसपछि यसबारेमा केही वैज्ञानिक अध्ययनहरु भएका छन् । तर, पनि ठोस प्रमाणिक नतिजा भने आएको छैन । हिमालयखवर