उत्तर कोरियासम्बन्धी सम्मेलन गर्दै अमेरिका र क्यानडा

देशबाहिर

उत्तर कोरियाको आणविक संकटबारे अमेरिका र क्यानडाले आगामी जनवरीमा विदेशमन्त्रीस्तरीय सम्मेलनको आयोजना गर्ने भएका छन्। अमेरिकी र क्यानडेली विदेशमन्त्रीहरूले मंगलबार यस्तो सम्मेलन आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छन्। आगामी जनवरी महिनामा यो सम्मेलनको आयोजना गर्ने र त्यसमा संयुक्त राष्ट्रसंघका लागि दक्षिण कोरिया र जापानी विशेष दूतको पनि सहभागिता रहने जानकारी दिइएको छ।

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले पत्रकार सम्मेलनमा भने, ‘हामीले उत्तर कोरियाको आणविक संकटको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट खोजियोस् भनेर यो सम्मेलन गर्ने निर्णय गरेका हौँ।’ अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन क्यानडाको भ्रमणमा छन्। यस सम्मेलनबाट उत्तर कोरियालाई आणविक कार्यक्रमलाई रोकेर शान्तिपूर्ण रूपमा वार्ताका लागि टेबलमा आउन दबाब सिर्जना गर्ने उनले जानकारी दिए।

उता मंगलबार मात्र जापानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने जनाएको थियो। जापानमा हुनसक्ने ब्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रको आक्रमणबाट जापानलाई जोगाउन यस्तो प्रणाली जडान गर्न लागिएको दाबी गरिएको छ।

जापानमा नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ। दुई महिनामात्र अघि पनि उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो। जापान सरकारी प्रवक्ताले भने, ‘उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकाले यसको प्रतिरक्षाका लागि यस्तो निर्णय गरिएको हो।’ ती विदेशमन्त्रीहरूले आगामी दिनमा यस कोरिया संकटको समाधानका लागि के कस्ता उपाय अवलम्बन गर्ने भन्ने बारेमा आवश्यक निर्णय र परामर्श गर्नेछन्।

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको मात्र नभई विश्वमा यसले तनाव बढाएको छ। अन्नपूर्ण पोष्टमा खबर छ।