प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

मोबाइल बजार सूचना प्रबिधि

 टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्।

कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले ‘नाइट भ्वाइस प्याक’, कसैले ‘माई फाइभ’, त, कसैले ‘स्पेसल टक प्याक’ योजना ल्याएका छन्। यस किसिमका विभिन्न भ्वाइस कल योजना कम्पनीले ग्राहकलाई प्रस्तुत गर्दा सबैभन्दा फाइदा ग्राहकलाई पुगेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाल बताउँछन्। उनका अनुसार कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा साधारण कलमाभन्दा कल रेट केही सस्तो हुँदै गएको छ। यसले प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको हो।

‘कम्पनीले ग्राहक वर्ग, समूह र समयलाई छुट्याएर उनीहरूलाई लोभ्याउने खालका प्याक ल्याएका छन्’ उनले भने, ‘त्यसैले त, प्याक पनि विद्यार्थी, नाइट, डे, फ्रेन्ड्स, माई फाइभलगायत छन्।’ ‘आवश्यकता अनुसार यस्ता प्याकलाई खरिद गरी प्रयोग गर्दा साधारण कलको हिसाबमा ग्राहकले सस्तो दर रेटमा कल गर्न पाउँछन्’, उनले थपे। कम्पनीले ग्राहकलाई आकर्षित गर्न ल्याएको भ्वाइस कल प्याकेजलाई हेर्न हो भने अहिले टेलिकमका ग्राहकले १० पैसा प्रतिमिनेटका दरले भ्वाइस कल गर्न सक्ने भएका छन्।

सामान्यतया एनटीसीको जीएसएम तथा सीडीएमए पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा क्रमशः एक रुपैयाँ र १.५० रुपैयाँ प्रतिमिनेट लाग्ने गरेको छ। यो टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाएको कल रेट हो। तर, प्याकको रूपमा ग्राहकलाई सेवा उपलब्ध गराउँदा कम्पनीको पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा ४५ पैसा प्रतिमिनेट लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। अन्नपूर्ण पोष्टमा खबर छ।