विर्तामोडका सडक चौडा बन्दै, सडक अतिक्रमण रोक्न चल्यो स्काभेटर

प्रदेश समाचार स्थानीय

गोपिन पोखरेल-

विर्तामोड / झापाको विर्तामोड सडक छेउमा अतिक्रमण गरी बनाएका संरचना तथा फुटपाथ पसल शुक्रबार देखि जेसिभि लगाएर भत्काउन थालिएको छ ।

सडकको दाया बायाँ अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको जिल्ला टाफिक प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयको अगुवाई,जिल्ला टाफिक प्रहरी कार्यालय झापा, विर्तामोड उद्योग बाणिज्य संघ र विर्तामोड नगरपालिकाको संयुक्त प्रयासमा स्काभेर प्रयोग गरी अतिक्रमण गरी बनाएका घर टहरा भत्काइएको हो ।

मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास हुदै गएको बिर्तामोड नगरपालिकाका सडकहरु अतिक्रमणका कारण साँघुरिदै गएकाले सडक दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक क्षेत्र भित्र पर्ने विजुलीका पोल तथा नेपाल टेलिकमका तार जडित पोल हटाउन ६ महिना अघि नै आग्रह गरिए पनि प्राधिकरण र टेलिकमले चासो नदिँदा समस्या हँुदै आएको थियो ।

अतिक्रमित संरचना भत्काउदै स्काभेटर

सडक डिभिजन कार्यालयले थालेको यो अभियानमा विर्तामोड नगरपालिकाले सहयोग मात्र गरेको विर्तामोड नगर प्रमुख ध्रुव शिवाकोटीले बताए । उनले भने ‘विर्तामोड दिनदिनै यस्तो अव्यवस्थित हुदै छ त्यो नगरपालिकाले टुलुटुलु त हेर्नु भएन नी । सडक चौडा पार्ने काम सडक डिभिजन कै हो नगरपालिकाले अभियानमा साथ दिएको हो ।’

सडक मापदण्ड अनुसार हाल कायम रहेको सडकको बिचबाट ५० फिट दायाँ बायाँ बढाएर १०० फिट बनाइने विर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बताए । सडक चौडा गर्न सम्पूर्ण विर्तामोडबासी व्यापारीहरुले भरपुर सहयोग गरेको संग्रौलाले बताए ।

पूर्व पश्चिम राजमार्ग तथा दक्षिणतर्फका सडक अतिक्रमण गरि बनाइएका घर टहरा तथा संरचना भत्काउने अभियान अब जारी रहने उनले बताए । सडक चौडा गरेपछि अव्यवस्थित पार्किङका लागि तत्काल उचित व्यवस्था गर्ने, सडक कालोपत्रे गर्ने र सडक किनारमा बिरुवा रोपेर हरियाली शहर बनाउने योजना रहेको संग्रौलाले जानकारी दिए ।

सडक किनारमा रहेका फुटपाथ हटाउने विषयमा विर्तामोड नगरपालिका १,४ र ५ नम्बरका वडाध्यक्ष, उद्योग वाणिज्यसंघ विर्तामोडका उपाध्यक्ष राजु न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि सम्मिलित बैठकले बिहिबारबाट फुटपाथ हटाउने निर्णय गरेर अभियान सुरु गरेको थियो ।