पुस ८ देखि झापाका मुख्य राजमार्गमा सिटी सफारी चलाउन नपाइने

शिक्षा समाचार स्थानीय

विर्तामोड / शनिबारदेखि झापाका राष्ट्रिय राजमार्गमा व्याटीबाट चल्ने इ–रिक्सा (सिटि सफारी) सञ्चालन गर्न नपाइने भएको छ ।

राष्ट्रिय राजमार्गमा इ–रिक्सालाई चल्न नदिने सरकारी नियमको पालना गर्दै रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यातायात व्यवस्था विभागले राजमार्गमा इ–रिक्सा चल्न नदिइने परिपत्र जारी गरेपछि सो नियमलाई कडाइका साथ लागु गर्न लागिएको ट्राफिकले जनाएको छ ।

मोरङमा सो नियम आजैदेखि लागु गरिएको छ भने झापामा शनिबारदेखि लागु हुनेछ । इ रिक्साका कारण अत्याधिक दुर्घटना भई ट्राफिक व्यवस्थापनमा समस्या भएकोले प्रतिबन्ध लगाउन लागेको सरकारी अधिकारीको भनाई छ ।

यसैबिच दमकमा यो नियम शनिबारदेखि कडाइकासाथ लागु गर्न लागेको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख उत्तम भण्डारीले जानकारी दिए ।

सिटि चालकहरुमा ट्राफिक सचेतना न्युन भएका कारण दुर्घटना बढेको भन्दै रोक लगाउन लागिएको प्रहरीको दाबि छ । सफारी सञ्चालनमा रोक लगाउने बिषयमा छलफल गर्न शनिबार बिहान ८ बजे सफारी चालकहरुलाई डाकिएको उनले बताए ।