प्रतीक्षित बन्दै ‘बटरफ्लाई’, आर्यन र प्रियंकाको रोमान्सलाई वान मिलियन भ्युज

काठमाडौं / पहिलो फिल्म ‘के म तिम्रो होइन र?’बाट एक्सन हिरोको छवि बनाएका अभिनेता आर्यन अधिकारी लामो अन्तरालपछि दोस्रो फिल्म ‘बटरफ्लाई’मार्फत पर्दामा आउँदै छन्।

डेब्यू फिल्ममा ‘सिक्स प्याक बडी’ तथा उनको अभिनय कलाले धेरैको मन जितेको थियो। उनको दोस्रो फिल्म प्रतीक्षित बनिरहेको छ। लभर ब्वाइको रूपमा देखिएका आर्यनले यस फिल्ममा अभिनेत्री प्रियंका कार्कीसँग जोडी बाँधेका छन्।

गत नोभेम्बर १० तारिखमा सार्वजनिक भएको आर्यन-प्रियंका रोमान्सरत उक्त फिल्मको गीतले वान मिलियन बढी भ्युज प्राप्त गरेको छ। गीतको भिडियोलाई युट्युबमा अहिलेसम्म ११ लाख बढी पटक हेरिएको छ। प्रेमिल शब्दको साथमा अर्जुन पोखरेलको सुमधुर संगीत समावेश रोमान्टिक गीतले धेरै दर्शकको मन जितिसकेको छ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको उक्त गीतलाई प्राप्त भएका प्रतिक्रियाहरू हेर्दा फिल्मलाई कैयौँ दर्शकले ‘प्रतीक्षित’ लेखेका छन्। ओमप्रतीक गुरुङ निर्देशित फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन्। रमेश प्रजापति कार्यकारी निर्माता रहेको यस फिल्ममा निर्माताको रूपमा पुष्पाञ्जलि अधिकारी, रामशरण राना र भूपेन्द्र सुवेदी छन्।

मन्दिल श्रेष्ठ र सरोज शाह फिल्मका सहनिर्माता हुन्।  यही पुस २८ बाट दर्शकमाझ आउने यस फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रवीन्द्र खड्का, पुरन थापा, सुष्मा कार्कीको मुख्य भूमिका रहेको छ। फिल्ममा अर्जुन जीसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ। थाहा खबर