कार्यालयको काम ठप्प पारी हल्दिबारी वडाकार्यालयका कर्मचारी दिनभर सभासद्को स्वागत कार्यक्रममा सञ्चारकर्मीलाई बाइपास गरिएको भन्दै चौतर्फी विरोध ।

शिक्षा समाचार स्थानीय

गोपिन पोखरेल-

विर्तामोड  / झापाको हल्दिबारी गाँउपालिकाका सबै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी कार्यालयमा उपस्थित नभइ काम ठप्प पार्दा आइतबार दिनभर कार्यालयमा आउने सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन् ।

गाँउपालिकाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित हुने नव निर्वाचित सभासद्लाई बधाई तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा ५ वटै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गएपछि कार्यालयको काम काज  ठप्प भएको हो ।

हल्दिबारी गाँउपालिकाका सबै वडा कार्यालयमा निर्वाचित जनप्रतिनिधि र कर्मचारी आइतबार दिनभर कार्यालयमा उपस्थित थिएनन् । उनीहरु नव निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सभासद्लाई स्वागत गर्न आयोजित कार्यक्रममा गएका थिए ।

हल्दिबारी गाँउपालिकाले क्षेत्र नं ३ बाट निर्वाचित हुने प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजेन्द्र लिङदेन, प्रदेशसभामा निर्वाचित सभासद बसन्त बानियाँ र पूर्णसिंह राजवंशीलाई बधाइ तथा स्वागत गर्ने कार्यक्रम राखेको थियो । कार्यक्रममा राजेन्द्र लिङदेन र पूर्णसिंह राजवंशी मात्र उपस्थित थिए । बसन्त बानियाँ काठमाण्डौं गएका कारण उपस्थित थिएनन् ।

गाँउपालिकाको ४ नं वडा कार्यालयमा आयोजित सो कार्यक्रममा झापाका कुनै संचार माध्यम र पत्रकारलाई निमन्त्रणा गरिएको थिएन । गाँउपालिकाले यत्रो भव्य कार्यक्रम गर्दा पनि स्थानिय सञ्चार कर्मीलाई बाइपास गर्ने भन्दै कार्यक्रम स्थलमै आवाज उठेको थियो ।

गाँउपालिकाले कार्यक्रम आयोजना गरेको विषय सामाजिक सञ्जाल मार्फत मात्रै सार्वजनिक भएपछि विमली नेत्र विक्रमले फेसबुकमा मार्फत ‘स्थानिय सञ्चारकर्मीहरुलाई बाइपास गरेर कतिन्जेल अगाडि बड्नुहुनछ ? हल्दिबारी गाँउपालिकाका जनप्रतिनिधिहरु’ भन्दै टिप्पणी गरेका छन् ।

यता गाँउपालिका प्रमुख रबिन्द्र लिङदेनलाई गाँउपालिकाले भव्य सम्मानको कार्यक्रम गरेछ नि भनेर सोध्दा कार्यक्रम गरेको हो, तर कोही सञ्चारकर्मीलाई खबर नगरिएको बताए । उनले यो कार्यक्रम आयोजनाको जिम्मा प्रशासकिय अधिकृतलाई दिएकाले आफुलाई तेति जानकारी नभएको बताए । लिङदेनले कार्यक्रममा सबै वडाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएको भए पनि कामै ठप्प पारेर आउनु नभनेको पनि जानकारी दिए । यस विषयमा कार्यक्रम स्थलमै कुरा उठेको उनले स्विारे ।

निर्वाचित सभासद्लाई बधाई तथा स्वागत गर्ने भनेर कार्यक्रम आयोजना गरे पनि व्यानरमा ‘‘नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधिज्यूहरुको सम्मान कार्यक्रम’ भनेर लेखिएकाले त्रुटी भएको लिङदेनले स्विकारे । ‘हालै निर्वाचित सभासद्ले कुनै राम्रो काम गरेको भएपो सम्मान भन्न मिल्छ’ गाँउपालिका प्रमुख लिङदेनले भने ‘बधाई तथा सम्मान हुनु पर्नेमा लेख्ने क्रममा प्रशासकिय अधिकृतले त्रुटी गरेछन् ।’ हल्दिबारी गाँउपालिकाका प्रशासकिय अधिकृत खम्बराज राई छन् ।

उता सोही गाँउपालिका वडा नं १ गोलधापका वडा अध्यक्ष त्रिलोचन सापकोटाले आजको कार्यक्रम अनौठो भएको टिप्पणी गरे । प्रमुख अतिथि बिनै कार्यक्रम सम्पन्न भो ‘उनले भने प्रमुख अतिथि नै राखिएन सबैलाई विशेष अतिथि मात्र बनाएर कार्यक्रम गरियो ।’ यो अहिले सम्मको अनौठो कार्यक्रम भएको सापकोटाको टिप्पणी छ ।

कार्यालय छुट्टी नगरी गाँउपालिकाले आफ्नै स्वार्थका निम्ती सबै कार्यालयका कर्मचारीलाई विहानै देखि डाकेर तालाबन्दी कै शैलीमा कार्यक्रम गरेकाले सेवाग्राहीलाई मार्का परेको उनले बताए । कार्यक्रम ११ बजेदेखि शुरु भए पनि कर्मचारी भने बिहान १० बजेदेखि नै कार्यालय बन्द गरेर गएका थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेरद्वार राजेन्द्र लिङदेलले कार्यक्रममा सम्बोधन गर्दै आफुले कसैप्रति पूर्वाग्रह नराखि काम गर्ने प्रतिबद्धता जनाए । आफ्नो कार्यकाल भरी भ्रष्टाचार नगर्ने भन्ने पुरानै प्रतिबद्धता दोहोर्याएका लिङदेलले ‘भ्रष्टाचार गर्नु भनेको आमाको खुन खाए सरह भएको’ टिप्पणी गरे । हल्दिबारी गाँउपालिकाले स्वागत गरेकोमा खुसि लागेको बताउँदै सभासद् लिङदेलले यसरी कार्यालय नै बन्द गरेर जनप्रतिनिधि र सबै कर्मचारी उपस्थित हँदा गलत सन्देश जाने भएकोले आइन्दा कार्यक्रम गर्दा समय र जिम्मेवारीलाई ख्याल गर्न सबैलाई आग्रह गरेका थिए ।

गाँउपालिका उपप्रमुख डम्बर गिरीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता गाँउपालिका प्रमुख रविन्द्र लिङदेलले गरेका थिए । कार्यक्रमा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीले जनताले दिएको म्यान्डेड अनुसार विना सर्त इमान्दारितापूर्वक काम गर्ने बताए । कार्यक्रमक अधिकृत खम्बराज राईले सञ्चालन गरेका थिए ।