बाह्र वर्षिया बालिकाले चर्पी बनाएपछि पाँचगाछी खुल्ला दिसामुक्त घोषणा,  साँझ सामुहिक दीपावली सहित खुसियाली

विनोद धौलागिरि

झापा / शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ (साविक पाँचगाछी गाविस) मा खुल्ला दिसामुक्त अभियान थालनी भएदेखि नै पाँचगाछी–९ की १२ वर्षीया अशिका राजवंशीलाई निद्रा पर्न छोड्यो ।

शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत अशिकालाई एउटै चिन्ता हुन्थ्यो, कुन बेला शिक्षक र साथीहरुले ‘तेरो घरमा चर्पी छ कि छैन’ भनेर सोध्नेहुन् ।

वडा नं. ९ मा रहेको सडक छेउमा रहेको सुकुमबासी बस्ती, घरमा रोगी बुबा, कमाइ गर्न नसक्ने आमा । गाउँमा खुल्ला दिसामुक्त अभियान थालनी भएदेखि नै छिमेकीका घरमा चर्पी बन्न थाले । स्कूलका साथीहरुले घरमा चर्पी बनाएको कहानी सुनाउन थाले । “मेरो घरमा पनि चर्पी बनाउन पाए त अरुलाई सुनाउथें भन्ने लाग्थ्यो”, अशिकाले भनिन, “चर्पी बनाउन न पैसा थियो, न सामथ्र्य र पर्याप्त जग्गा नै ।”

“पैसा हुनेले बनाउने हो चर्पी, हाम्ले त खोलाको किनारमा दिसा गरे भैहाल्यो नि”, चर्पी बनाउन अनुरोध गर्दा बुबा दाजुरा राजवंशीले भनेको सम्झिइन्, “न जग्गा छ, न खुबी । तैंले केही गर्न सक्तिनस्, म बिरामी छु, आमाले कसरी बनाउँछे चर्पी ?”

चर्पी बनाउन अनुरोध गर्दै वडाध्यक्ष र वडा सदस्यहरु गाउँमा घुम्न थाले, अभियानकर्ताहरुले घर घरमा गएर चर्पी बनाउन अनुरोध गर्दै गए, अभियानीहरुले आवश्यक सहयोग समेत गरे । सबै घरमा चर्पी बनाए, जिल्लाबाट गुणस्तर अनुगमन भयो, तर उनको घरमा चर्पी बनेको थिएन ।

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायले सहयोग गरेर चर्पी बन्यो ।”

अशिकाको घरमा चर्पी बनाएसँगै अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ । चर्पीको प्रयोगको सुनिश्चितताका लागि अभियानकर्ताहरुले साँझ विहान खुल्लामा दिसा हुने स्थानमा गश्ती गरिरहेका छन् । जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाहरुले चर्पीमा मात्र दिसा पिसाव गर्न र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन सुझाइरहेका छन् ।

समुदायका युवाहरु र वडास्तरीय समितिका प्रतिनिधिहरु खुल्ला दिसामुक्त घोषणा समारोहको तयारीमा लागेका छन् । “एक जुगमा एक पटक हुने खुल्ला दिसामुक्त घोषणा समारोहलाई सभ्य र भव्य तरिकाले मनाउने तयारीमा वडाहरु लागेका छन्”, पाँचगाछीमा नै रहेर अभियान सहजीकरण गरिरहेको सगरमाथा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्यले बताए ।

२ हजार ४ सय ३२ घरधुरी रहेको पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि १ हजार ४ सय ८७ घरधुरीमा सुरक्षित चर्पी रहेका थिए । खुल्ला दिसामुक्त अभियानको क्रममा ९ सय ४५ घरमा सुरक्षित शौचालय निर्माण गर्नुपर्ने भए पनि बसाइ सराइ र संयुक्त शौचालय प्रयोग गरेका कारण ८ सय १८ घरायसी शौचालय निर्माण गरी पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याएको वडा नं. ४ का अध्यक्ष अधिकचन ताजपुरियाले जानकारी दिए ।

जनताचोकमा सामुहिक दीपावली

खुल्ला दिसामुक्त घोषणा समारोहलाई मानव सभ्यताको एक खुड्किलो मान्छिन् वडा नं. ४ की महिला स्वास्थ्य स्वयंसेविका एवम् खुल्ला दिसामुक्त अभियानकर्ता गोमा बाँस्कोटा । त्यसैले, खुल्ला दिसामुक्त घोषणा समारोहको पूर्वसन्ध्यामा दुबै वडाका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सोमबार साँझ जनताचोकमा सामुहिक दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अधिकचन ताजपुरिया र वडा नं. ५ का वडाध्यक्ष सत्यनारायण राजवंशी लगायत वडा सचिवहरु, खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सरसफाइ अभियानकर्ताहरु र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । “खुल्लामा दिसा गर्दा झिंगा, फोहर हात, फोहर पानी, हरियो सागपात लगायतका माध्यमबाट मानिस भएर मानिसकै दिसा खानुपर्ने वाध्यता थियो”, वडा नं. ६ का अध्यक्ष सत्यनारायण राजवंशीले सामुहिक दीपावली कार्यक्रममा भने, “सबै घरमा चर्पी बनेर चर्पीको प्रयोग गर्न थालेपछि हामी अब सभ्यताको नयाँ युगमा प्रवेश गरेका छौं, जुन सामाजिक रुपान्तरणका लागि कोसे ढुंगा बन्नेछ ।”