मेचीनगर लेडी जेसीज देशकै उत्कृष्ट जेसीज शाखा घोषित

प्रदेश समाचार समाज

मेचीनगर / समाज परिवर्तनका निमित्त गरेको कार्यको मुल्यांकन गर्दै मेचीनगर लेडी जेसीज देश भरकै उत्कृष्ट जेसीज शाखा घोषित भएको छ ।

भैरवाको सिद्यार्थनगरमा आज मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ औ राष्ट्रिय अधिबेशनले नेपाल जेसीजको सामुदायिक क्षेत्र अन्तरगत देशभरका शाखाहरु मध्ये मेचीनगर लेडी जेसीजलाई उत्कृष्ट जेसीज शाखाको रुपमा पुरस्कृत गरिएको लेडी जेसीज वर्ष २०१५ कि अध्यक्ष टिका सुवेदीले जानकारी दिइन ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले लेडी जेसीजकी अध्यक्ष शोभा श्रेष्ठलाई उत्कृष्ट शाखाको प्रमाण पत्र बितरण गरेका थिए ।

मेचीनगर लेडी जेसीज देशभरबाट उत्कृष्ट शाखाको रुपमा पुरस्कृत हुँदा आफुहरु निकै हर्षित भएको र यो पुरस्कारले मेचीनगर लेडिजेसीजलाई समाजका निमित्त काम गर्न अझ बढी प्रेरणा मिलेको अध्यक्ष शोभा श्रेष्ठले बताइन ।

त्यस्तै लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले यो पुरस्कारले लेडि जेसीज परिवार गौरवान्वित भएको र अहिले सम्मको मेहनतको फल प्राप्त भएकोमा खुसी व्यक्त गरिन । उनले लेडी जेसीजलाई अगाडी बढ्न सहयोग पुर्र्याउने मातृ शाखा धुलाबारी जेसीज, बिभिन्न संघसंस्था, ब्यक्तित्व लगायत सबैमा आभार पनि ब्यक्त गरिन ।