विवादको केन्द्रमा अमेरिकी राष्ट्रपति ट्रम्प

देशबाहिर राजनीति

काठमाडौं : यसवर्षको सुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा सुरु भएको छ। उनको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस समयमा अमेरिकी जनताले उनलार्इ बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन्। हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सारेका नीतिकै घोषणा उनले घोषणा गरेका हुन् तर ती कुनै पनि विवादरहित भने बन्न सकेनन्।

अघिल्ला वर्षमाजस्तै अमेरिकामा सन् २०१७ मा पनि राजनीतिक र कूटनीतिक दाउपेचले निरन्तरता पायो। त्यसमा पनि विश्वको सबैभन्दा शक्तिशाली मानिएको अमेरिकी राष्ट्रपति चर्चाको शिखरमा रहनु स्वाभाविकै हो। अमेरिका सधैँजसो चर्चाको विषय नै बन्ने गरेको भए तापनि यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै क्रियाकलापले गर्दा अमेरिका थप विवाद र चर्चाको विषय बन्न पुग्यो।

अर्बपति राष्ट्रपति

अमेरिकाले आफ्नो इतिहासमा पहिलोपटक एकजना अर्बपति राष्ट्रपति पाएको कुराले पनि विश्वमा चर्चा भएको हो। रिपब्लिकन पार्टीबाट उम्मेदवार भएका अमेरिकाका नामी अर्बपति डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भए। त्यसो त निर्वाचनअघि कैयौँ सर्वेक्षणमा अमेरिकी पूर्व विदेशमन्त्रीसमेत रहेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन भावी राष्ट्रपतिका रुपमा हेरिएको थियो। तर निर्वाचनको परिणाम भने त्यस्तो आएन।

अमेरिकी अर्बपति व्यापारी ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि यसले संसारको राजनीतिमा एकखालको नयाँ सञ्चार र चर्चाको विषय भएको थियो। सन् १९४६ जुन १४ मा जन्मिएका राष्ट्रपति डोनाल्ड ट्रम्प फोर्स म्यागाजिनका अनुसार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने समयमा सर्वाधिक धनीको सूचीमा थिए। त्यस समय उनी विश्वकै धनीको सूचीमा १ सय ५६ औँ स्थानमा थिए।

त्यसै पनि अमेरिकी निर्वाचनलाई विशेष रुचिका साथ हेर्ने विश्वले ट्रम्पका कारण झनै विश्वको विशेष ध्यान तानिएको थियो। त्यसपछि पनि उनी चर्चामा आउन छाडेनन्। हुनत यो विवाद होइन, तर ट्रम अर्बपति राष्ट्रपति हुनु भने विश्वकै चर्चाको विषय भने हो।

अमेरिकी चुनावमा रुसको हात

सन् २०१६ को नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि सर्वाधिक समय र स्थान पाएको थियो। अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायले नै ठोकुवा गरेर प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनमा उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एउटा गुप्त साइबर अभियान नै चलाएको व्यक्तिगतरुपमा आदेश दिएको खुलासा गरेको थियो।

यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो। यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसदीय सुनुवाइका लागि नै उभ्याइयो। निर्वाचनका समयमा ट्रम्पलाई पुटिनको सूचना तथा प्रविधिको सञ्जालले सघाएको भनी गरिएको प्रचारको विरोधमा उनी उभिएको भए पनि एकजना रुसी वकिलसँग उनका जेठा छोराले नै त्यस समयमा उक्त अभियानको अगुवाइ गरेको तथ्य खुल्न आयो।

यसले अमेरिकीको प्रतिष्ठामा ठेस लाग्न पुगेको महसुस गरे। आफ्नो निर्वाचनमा आफ्नो परम्परागत विरोधी रही आएको रुसको प्रभाव देखिनु र त्यो प्रमाणित पनि हुनुले उनीहरुको प्रतिष्ठामा आँच आएको महसुस भएको थियो। यो विवादले अमेरिकामा सन् २०१७ भरी ठाउँ लिएको थियो।

मिडिया’ ट्रम्प वाकयुद्ध
आफ्नै नीतिका कारण कहिले विवाद त कहिले चर्चामा आउने गरेका अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचनको समयमै अमेरिकी मिडियाको तारो बने। किनभने उनले निर्वाचन जित्ने अनुमानको समाचार लगभग अमेरिकाका कुनै पनि मिडियाले दिएका थिएनन्। अमेरिकालगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई सधैँ पराजयको श्रेणीमा राखेका थिए। त्यसैले उनले अमेरिकी मिडियालाई नै फेक मिडियाको उपाधि दिए।

अमेरिकी इतिहासमा नै पहिलोपटक मिडिया र राष्ट्रपतिको बीचमा यस्तो सम्बन्ध रहेको थिएन। तर ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा आएपछि अमेरिकी इतिहासमा नै मिडिया फेक भएको आरोप लाग्यो, जुन कुरा अमेरिकी मिडियाले अहिले पनि चुपचाप सहेका छन् तर विवादको अन्त्य भने भएको छैन।

मुस्लिम देश पाएनन् प्रवेश

अमेरिकी राष्ट्रपतीय चुनावको प्रमुख एजेण्डा आतङ्कवादविरुद्ध लड्ने प्रतिबद्धता रहेको थियो। ट्रम्पको कतिपय आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिरी विश्वमा पनि तरङ्ग ल्यायो। सबै मुस्लिम समुदायलाई आतङ्ककारीको कोटिमा राख्नु अराजकता निम्त्याउनु मात्र हो भन्ने तर्क गर्दै अमेरिकी र अरु विश्वका अधिकारवादीहले पनि मुस्लिम समुदायका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको विरोध गरेको थियो।

राष्ट्रपतिले आफ्नो कार्यभार सम्हालेको सुरुमै उनले विभिन्न पाँच कट्टर मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा नै प्रतिबन्ध लगाएपछि ‘एक विश्व एक गाउँ’ ९वान वल्‍र्ड वान भिलेज० को अवधारणा अङ्गिकार भइरहेको अहिलेको विश्वमा कुनै देशले अर्का कुनै देशका नागरिकलाई बिनाकारण प्रवेश नदिनु अव्यावहारिक निर्णयबाहेक अरु केही पनि होइन भन्ने आवाज सर्वत्र उठेको थियो।

राष्ट्रपतिको यस निर्णयको अमेरिका र विश्वभर आलोचना भएको थियो। ठूलाठूला अमेरिकी बहुराष्ट्रिय व्यापारिक घरानाले त यसको खुलेरै विरोध गरेका थिए। अमेरिकाभित्रै ठाउँठाउँमा यसका विरुद्ध हजारौँको संख्‍यामा जनप्रदर्शन, नाराबाजी र जुलुस गरिएको थियो भने विश्वका अरु देशका नेताले पनि व्यापक विरोध गरेका छन्।

विगतका दशकौँदेखि प्रजातन्त्र र मानवअधिकार रक्षाको विषयमा वकालत गर्दै यसका लागि अरबौँ डलर लगानीसमेत गर्दै आएको अमेरिकी संस्कार र प्रतिबद्धतालाई बेवास्ता गर्दै ट्रम्प प्रशासनले विपरीत दिशातर्फ पाइला अघि बढाउन खोजेको भनेर आलोचना भयो।

यस्तै कारणले गर्दा हुनसक्छ अमेरिकी स‌ंघीय अदालतले राष्ट्रपतिका कतिपय निर्णयलाई तत्काल कार्यान्वयन नगर्न, नगराउन धमाधम आदेश जारी गरेका छन्। मुस्लिम देशका नागरिक प्रवेश निषेधाज्ञाप्रति पनि सुरुमा पूर्व राष्ट्रपति ओबामाका पालामा नियुक्त भएका १६ राज्यका महान्यायाधिवक्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रपतिका निर्णयप्रति आलोचना र खेद प्रकट गरे भने वासिङ्टन राज्यका महान्यायाधिवक्ताको कार्यालयले यस्ता निर्णयविरुद्ध कानूनी उपचार गराउन सङ्घीय अदालतमा छुट्टै मुद्दा नै दायर गर्‍यो।

विभिन्न सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानूनको पक्षमा पुनः ट्रम्प प्रशासन सर्वोच्च अदालत गयो। उनको त्यो निर्णयको पक्षमा दियो सर्वोच्च अदालतले फैसला। निकै विवाद भए पनि उनको यो एउटा निर्णयले मात्र अमेरिकी राष्ट्रपतिको कामलाई सदर गरिदियो। अन्यथा उनका अधिकांश काममाथि अदालतले प्रश्न उठाएकै छ।

इजरायलमा एक्लियो अमेरिका

इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णयले उसलाई विश्व समुदायबाट नराम्ररी एक्ल्याएको छ। राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गरेका हुन्। तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो। यो मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ मा मतदान नै भयो।

जसमा अमेरिकाको सो निर्णयका विपक्षमा विश्वले जनमत प्रकट ग¥यो। अमेरिकाको इतिहासमा यसरी अमेरिका विश्व राजनीतिमा एक्लिएको सायद यो नै पहिलो पटक हुनुपर्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरूविरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको थियो।

अरब र मुस्लिम देशहरूको माग बमोजिम सो प्रस्तावमा मतदान हुँदा अमेरिकाको पक्षमा अर्थात् जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकले मतदान गरेका थिए। मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए। यस परिणामले पनि राष्ट्रपति ट्रम्पलाई नै विवादास्पद बनाउने काम गर्‍यो।

कता बन्दैछ त पर्खाल ?

राष्ट्रपति ट्रम्पले चुनावअघि व्यक्त गरेका कतिपय प्रतिबद्धतालाई वास्तवमा प्रायः असम्भव नाराका रुपमा लिइएको थियो। यो तथ्यलाई स्वयं अमेरिकीले मात्र नभएर विश्वका अरु देशका राजनीतिज्ञ र जनताले पनि विश्लेषण गरिरहेका थिए। कुनै एक देशले खुल्ला सिमाना भएको आफ्नो अर्का छिमेकीका विरुद्धमा लामो सीमाक्षेत्रभर ठूलो पर्खाल नै लगाएर एक अर्काको देशमा आवतजावत प्रवेश नै गर्न नदिनेजस्ता निर्णय कार्यान्वयन गर्न अति कठिन विषय हो।

राष्ट्रपति ट्रम्प भने निर्वाचन जितेलगत्तै अब मेक्सिकोको सीमामा पर्खाल ठड्याउने कामको थालनी गरिहाल्ने जस्तो गरी अभिव्यक्ति दिएका थिए। त्यसका लागि उनले प्रथमतः पर्खाल बनाउँदा लाग्ने लागत खर्च छिमेकी मेक्सिकोलाई नै व्यहोर्न लगाउने निर्णय गरेका थिए। मेक्सिकोबाट यसको व्यापक विरोध भयो। पर्खाल बनाउने ट्रम्पको निर्णय लागू हुन सकेन। अहिले अमेरिकीहरु व्यंग्यका रुपमा भन्ने गर्छन् कि– ‘कताबाट बन्दै छ पर्खाल।’

मेक्सिकोसँग खुल्ला सिमानाका कारण अमेरिकाले बेरोजगारी, आतङ्कवाद, लागू पदार्थको खुला ओसारपसार, मानव तस्करी, शृङ्खलाबद्ध हिंसा हत्याको नजिकको साक्षी, तस्कर समूहबीचको झै–झगडा, मारकाटजस्ता अनेकन अवाञ्छित पीडा यद्यपि भोग्नुपरेको तथ्य त छँदै छ। तर पनि यसको समाधान पर्खाल मात्र होइन र त्यो सम्भव पनि छैन भन्ने कुरामा सायद ट्रम्प आफैँ पनि सहमत भएजस्तो छ। त्यसैले पछिल्लो समयमा उनले यो पर्खाल निर्माणको प्रसंग कमैमात्र लिने गरेका छन्।

आप्रवासी र शरणार्थी
राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानमा आप्रवासी र शरणार्थीप्रति अनुदार नीति अख्तियार गर्दै यस विषयमा जे जस्तो नीति लिन्छु भन्ने उद्घोष गरेका थिए, ह्वाइट हाउस प्रवेश गरेको दुईहप्ता हुन नपाउँदै उनले निर्णय लिएका थिए। अषट्रेलियाबाट शरणार्थी स्वीकार गर्न तयार भएको अघिल्लो ओबामा प्रशासनको निर्णय पनि ट्रम्पले सिधै इन्कार गरिदिएका थिए।

यसका कारण अब अष्ट्रेलिया र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध र विभिन्न क्षेत्रको समझदारीमा पनि तिक्तता उत्पन्न हुनसक्ने देखिएको थियो। यही विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीच टेलिफोनमा चर्काचर्की नै परेको समाचार बाहिर आएको थियो।

यस्ता गतिविधिले राज्य सञ्चालनमा राष्ट्रपतिलाई प्रत्यक्ष ठेस पुग्न गए तापनि उनले निर्वाचनका बेलामा बोलेका कुरालाई एकपछि अर्को गरी आफ्नै आत्मबल र मनोविज्ञानले कार्यान्वयनमा ल्याउन थालेपछि भने यसले संसारमा नै नयाँ तरङ्ग उत्पन्न गर्नुका साथै विश्वमा नयाँ राजनीतिक हलचल पनि पैदा गरेको महसुस हुन थालेको थियो।

विश्वको एक शक्ति राष्ट्रका रुपमा रहेको अमेरिकाको हालसम्मको परिस्थितिलाई हेर्दा यो अमेरिकी मूलका रैथाने अमेरिकीको मात्र देश नभई यस देशलाई समग्र विश्वले एक सुरक्षित राजधानी र साझा भूमिकाका रुपमा प्रयोग गर्दै आएको पाइन्छ। यही भावनाअनुरुप अमेरिकी सरकारले बिनाशर्त विश्वभरिका नागरिकलाई संरक्षण दिँदै आएको पाइन्छ।

अमेरिका यस प्रकार प्रयोग भइरहँदा अमेरिकी मूलका रैथाने नागरिकलाई असहज परिस्थिति उत्पन्न हुनु नै ट्रम्पको विजयको मूल कारण बनेको थियो। उनले आफू राष्ट्रपति भएमा आप्रवासीलाई अमेरिकामा स्थायी बसोबास तथा नागरिकता नदिने भनी गरेको घोषणा कुनै न कुनैरुपमा लागू गर्ने प्रयत्न गरेका थिए। तर त्यो सबै सम्भव भने हुन सकिरहेको छैन। रासस